कालिका कन्स्ट्रक्सनको लापरबाहीले धनगढीका व्यवसायी हैरान
धनगढीः सडक निर्माणमा कालिका कन्स्ट्रक्सनले लापरबाही गरेपछि धनगढीका व्यवसायी हैरान भएका छन्।
धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माणको भइरहेको ढिलाइका कारण व्यवसायी हैरान भएका हुन्। सो सडक खण्डमा सवारी चलाउन समेत मुश्किल भइरहेको यात्रुहरुको गुनासो छ। हिजो मात्र सो सडक खण्डमा अटो पल्टिन पुगेको छ।
धनगढीको मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको कालिकाले धनगढीको साल्टट्रेडिङ अगाडिका एक दर्जन पसल अगाडि माटो थुपार्दा पैदलयात्री, चालक, व्यवसायीले हैरानी खेप्नु परेको छ। मेड रोड एभरेष्ट बैंक अगाडीको सडक हिलाम्मे भएपछि नगरवासीले झनै दुःख पाइरहेका हुन्।
निर्माण कम्पनीलाई पटकपटक माटो हटाउन र निर्माण कार्य तत्काल अगाडी बढाउन व्यवसायीले आग्रह गर्दै आएका छन्। मुख्य सडक निर्माण गर्दा कुनै कुनै ठाउँमा नाली अधुरो छोड्ने गरेको समेत पाइएको छ। सडक निर्माणमा ढिलासुस्ती गर्दै आएको कम्पनीले व्यवसायीलाई समेत दुःख दिने नियतले जथाभावी रुपमा माटो थुपार्ने काम मात्र हुँदै आएको व्यवसायी बताउँछन्।
व्यवसायीले गुनासो गरेपछि यो विषयमा कुरा बुझ्न खोज्दा निर्माण कम्पनीका सम्पर्क व्यक्ति प्रकाशचन्द्र खरेलले फोन उठाएनन्। निर्माण कम्पनी धनगढीमा बनाइरहेका सडकमा अधुरो काम लामो समयसम्म छोड्ने गरेका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।