सेतीमा बिरामीको घुँइचो, प्रयोगशालाबाट मात्र दैनिक तीन सयको परीक्षण

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने बिरामीको दैनिक रुपमा घुँइचो लाग्ने गरेको छ। अस्पतालको प्रयोगशालाबाट मात्र दैनिक तीन सय बिरामीको ल्याव परीक्षण हुने गरेको छ। अस्पतालमा पर्याप्त जनशक्ति र उपकरण नहुँदा सिमित जनशक्तिबाटै २४ सै घण्टा सेवा दिनुपर्ने बाध्यता छ।
दैनिक तीन सय बिरामीको तीन हजार बढी किसिमको परीक्षण प्रयोगशालामा हुने गरेको छ। प्रयोगशालामा आउने परीक्षणको तुलनामा जनशक्ति र उपकरण भने सिमित छन्। जसका कारण परीक्षण रिपोर्ट दिन र उपकरण बिग्रदा सेवा प्रभावित हुने जोखिम रहेको प्रयोगशाला प्रमुख रमेश शाहीले बताए।
‘सेती प्रादेशिक अस्पतालमा दैनिक औसतमा तीन सय बिरामी ल्याव परीक्षण गराउन आउने गरेका छन्,’ उनले भने, ‘तीन सय बिरामीको करिब तीन हजार किसिमको परीक्षण हुने गरेको छ।’ सेतीको प्रयोगशालामा २१ जना कर्मचारी कार्यरत छन्। २४ सैं घण्टा प्रयोगशाला चलाउन जनशक्ति अभाव देखिएको छ।
ल्याब टेक्नोलोजिस्ट, प्याथोलोजिस्ट, उप–प्रमुख ल्याब टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्टका लागि एक/एक जना मात्र कार्यरत छन्। पाँच जना टेक्नोलोजिस्ट, चार जना टेक्निसियन र ८ जना असिस्टेन्ट सेतीको प्रयोगशालामा कार्यरत छन्। प्रयोगशाला तीन सिफ्टमा चलाउन थप पाँच जना प्राविधिक कर्मचारी नपुग रहेको शाहीले बताए।
आकस्मिक बिरामीका लागि सेतीमा अलग्गै प्रयोगशाला नहुँदा परीक्षण गराउनेको चाप बढ्दै गएको छ। यो सँगै २४ सैं घण्टा उपकरण चलाउनुपर्ने हुँदा महत्वपूर्ण उपकरणको सेतीमा व्याकअप छैन। फूल्ली बायोकेमेस्ट्री उपकरण, सिएलआइए उपकरण, युरिन कल्चर उपकरण, फूल्लीअटोमेटेड युरिन एनालाइजर उपकरणको व्याकअप सेतीमा छैन।
जसका कारण उपकरण बिग्रेको अवस्थामा सम्पूर्ण परीक्षण प्रभावित हुने जोखिम रहेको प्रयोगशाला प्रमुख शाहीले बताए। सेती अस्पतालमा साइटोलोजी टेस्ट भइरहेको छ। हिस्ट्रोप्याथोलोजी सेवा भने अझै सुरु हुन सकेको छैन। जसका कारण क्यान्सर परीक्षण गर्न नमुना काठमाडौं पठाउनु पर्छ।
.gif)


