सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छाडा कुकुरको बिगबिगी, तीन हजारलाई रेबिजविरुद्धको खोप

२०८० असोज १४, ०१:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा करिब तीन हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइएको छ।

धनगढीमा धनगढीमा सबैभन्दा बढी छाडा कुकुरको बिगबिगी देखिएपछि रेबिज विरुद्ध खोप लगाउने काम भएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा छाडा र घरपालुवा गरी पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो।

सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा करिब तीन हजार कुकुरलाई खोप लगाइएको छ। छाडा कुकुरको बिगबिगी बढेको र कतिपय हिँड्डुल गर्ने मानिस, अन्य कुकुर र जनावरलाई बौलाहा कुकुरले टोकेर रेबिज भएको पाइएपछि सप्ताहव्यापी खोप अभियान थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले बताए।

खोप लगाउन टोलटोलमा भेटेरिनरी डाक्टर र प्राविधिकहरूको टोली खटाइएको हो। गत वर्ष काठमाडौंपछि सबैभन्दा बढी कैलाली र कञ्चनपुर जिल्लामा पशुमा रेबिज देखिएको थियो। ८ महिनाको अवधिमा कुकुर, स्याल, गाई, बाख्रा र भैँसी गरी ५५ वटामा रेबिज देखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए। त्यस्तै सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १५ हजार सामुदायिक र घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ।

असोज ५ गतेदेखि साताव्यापी रेबिज विरुद्धको खोप लगाउने र शिक्षण संस्थामा रेबिज रोगबारे जानकारी गराउन स्कुल शिक्षाको कार्यक्रम पनि सञ्चालन गरिएको थियो। सबैभन्दा बढी कैलालीमा ५ हजार सामुदायिक र घरपालुवा कुकुरलाइ रेबिजविरुद्धको खोप लगाइएको छ। डडेलधुराको भित्रिमधेश क्षेत्रमा दुई हजार बढी कुकुरलाई खोप लगाइएको छ। सुदूरुपश्चिममा ४० प्रतिशत भन्दा बढी रेबिजको आउट ब्रेक रहेको डाक्टर जोशीले बताए।

‘स्कुले विद्यार्थी झनै जोखिममा रहन्छन्, साना बालबालिकाहरुलाई छाडा सामुदायिक कुकुरले टोक्ने र रेबिज संक्रमण हुने खतरा रहन्छ।’ बुधबार १७ औं विश्व रेबिज दिवस देशभरि मनाइएको थियो। रेबिज विरुद्धको भ्याक्सिन आविष्कार गर्ने वैज्ञानिक लुईस पास्चरको सेप्टेम्बर २८ का दिन मृत्यु भएकोले सोही दिनलाई विश्वभर विश्व रेबिज दिवसका रुपमा मनाइने गरिएको छ।

कमेन्ट लोड गर्नुस