सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब लागुऔषधका रोगीहरुलाई राख्न धनगढीमा खुल्दैछ सुधार गृह

२०८० असोज १३, ०९:५९ खबर संवाददाता

धनगढीः लागुऔषध विक्रीवितरण ओसारपसार र सेवनका हिसाबले कैलाली मुलुककै चौथो स्थानमा छ। लागुऔषधको कारोबार, ओसारपसार र सेवन धनगढीमा अझ बढी देखिएको छ। लागुऔषधको कुलतमा किशोरदेखि युवासम्मै फस्न थालेका छन्। पछिल्लो दुई वर्षयता त लागुऔषधको दलदलमा किशोरीदेखि युवती समेत फस्ने गरेका घटना पटकपटक सार्वजनिक भइरहेका छन्।

युवापुस्ता नै लागुऔषधको दलदलमा फस्न थालेपछि धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरीको पहलमा सुधार गृह सञ्चालनमा ल्याउने सहमति (सम्झौता) नै भएको छ। धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर प्रहरीले फूलबारीमा सुधार गृह सञ्चालन गर्ने भएको छ। उपमहानगरको वडा नम्बर १४ मा सुधार गृह सञ्चालन गर्ने विषयमा सम्झौता नै गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीले सुधार गृह सञ्चालनमा ल्याएपछि प्रदेशभरका दुर्व्यसनीहरूलाई सुधार गृहमा राखेर उपचार गरिने छ। दुर्व्यसनीलाई निको बनाएर समाजमा पुनर्स्थापना गर्ने र कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले समुदायसँग सहकार्य गर्ने नीति लिएको छ।

कैलाली र कन्चनपुरमा लागूऔषधका कारण समाज आक्रान्त बन्दै गएको छ। यस्ता गतिविधिलाई न्युनिकरण गर्न र कुलतमा फसेका व्यक्तिहरूलाई रोगी सरह व्यवहार गरेर नयाँ जीवन दिने उद्देश्यले सुधार गृह सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

लागुऔषध दुर्व्यसनीहरुको लागि धनगढी उपमहानगरपालिका–१४ फुलवारीमा पर्खाल सहितको सुबिधा सम्पन्न घर जग्गा उपलब्ध गराएर त्यसको व्यवस्थापन प्रहरीको आसरा केन्द्रले सञ्चालन गर्ने गरी धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबिच सम्झौता गर्ने काम सम्पन्न भएको छ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा लागुऔषधका ३४८ मुद्दा दर्ता भएका छन्। यो वर्ष प्रहरीले ४७४ पुरुष र ४९ जना महिलासहित ५२३ जनालाई पक्राउ गरेको छ। कैलालीमा ब्राउन सुगर अर्थात् खैरो हिरोइन सेवन र ओसारपसार गरेको अभियोगमा सबैभन्दा बढी व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। कैलालीमा किशोर/किशोरी तथा युवाहरू पहिलो चरणमै ब्राउन सुगरको दुर्व्यसनी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुल्ने गरेको छ।

कमेन्ट लोड गर्नुस