अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै छन्। अमेरिकापछि आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन्।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरे।
न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए। साथै उनले अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरे। प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरे। सो क्रममा उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए। त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरे।
त्यस क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उनी चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि आज स्वदेश फर्कन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


