धनगढीमा भोकेसनल स्कुल स्थापना गर्न सम्झौता, ‘लेवल वान’को तालिम सुरु
धनगढीः कैलालीको धनगढीमा भोकेसनल स्कुल स्थापना हुने भएको छ। बेराजगार युवालाई सीपमुलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीमा भोकेसनल स्कुल स्थापना हुने भएको हो। यसका लागि शुक्रबार सम्झौता समेत भएको छ। प्रदेशका ८८ पालिकाकै युवाले सीपमूलक तालिम लिन पाउने गरी धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन बीच फूलबारीमा स्कुल स्थापना गर्न सम्झौता भएको छ।
नगर प्रमुख गोपाल हमालले प्रदेशका सबै पालिकाका युवाहरूलाई निःशुल्क सीपमूलक तालिक प्रदान गर्ने उद्देश्यले स्कुल स्थापना गरिन लागेको बताए। ‘धनगढीको प्राविधिक स्कुलमा सुदूरपश्चिमका ८८ वटै पालिकाका युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य छ,’ उनले भने, ‘स्कुलमा निःशुल्क तालिकसँगै खाने बस्ने सुविधा पनि निःशुल्क हुनेछ भने युवाहरूलाई स्वरोजगार हुन सहज हुनेछ।’
धनगढी उपमहानगरपालिका–१८ मा रहेको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल युथ फाउन्डेसनको ओल्गापुरी भोकेसनल स्कुलले प्लम्बिङ र हाउस वायरिङको तालिम दिन सुरु गरिसकेको छ। प्लम्बिङमा २५ र हाउस वायरिङमा २८ जनाले तालिम लिइरहेका छन्। केही दिन भित्रै वेल्डिङ र सिकर्मीको तालिम पनि सुरू गर्ने तयारी छ। यो वर्ष चार विधामा तालिम सुरू हुने र मागअनुसार थप तालिमका कार्यक्रम चलाउने नगर प्रमुख हमालले बताए।
निःशुल्क सीपमूलक तालिम लिने अवसर पाएपछि तालिमा सहभागी भएका युवाहरु पनि उत्साहित भएका छन्। तालिमपछि स्वरोजगार हुन सजिलो हुने धनगढी–८ का हेमराज चौधरीले बताए। स्कुल सञ्चालन गर्न भवन निर्माणमा कम्तिमा डेढ वर्ष समय लाग्ने भएपछि उपमहानगरपालिकाले फूलबारी बहुमुखी क्याम्पसमा यो वर्षबाटै तालिम चलाउने निधो गरेको हो।
यस क्षेत्रका युवाहरूलाई सीपमूलक तालिम दिन क्याम्पस भवन प्रयोग गर्न उपमहानगरलाई प्रस्ताव गरेको फूलबारी बहुमुखी क्याम्पसका अध्यक्ष रमेशकुमार बस्नेतले बताए। ‘नेपाल युथ फाउन्डेसन, ओल्गापुरी भोकेसनल स्कुल र धनगढी उपमहानगरपालिकाले सीपमूलक तालिक सञ्चालन गर्ने भएपछि हामीले स्कुल भवन नबन्दासम्म क्याम्पसको कक्षा कोठा प्रयोग गर्न दिने भएका छौँ,’ उनले भने, ‘भोकेसनल स्कुल फूलबारीमा खुल्ने भएपछि यो क्षेत्रका युवाहरूले तालिम लिएर स्वदेश र विदेशमा काम गर्न सहज हुनेछ।’
फूलबारीमा भोकेसनल स्कुल खोल्न नेपाल युथ फाउन्डेसनलाई ५३ रोपनी जग्गा उपलब्ध गराएको छ। स्कुलमा तीन महिने तालिम सञ्चालन गरिनेछ। युथ फाउन्डेसनले सुरुमा चार विधामा तालिम प्रदान गर्नेछ भने त्यसपछि मागअनुसार विधा बढाइने र दोस्रो तहको तालिमसमेत दिने नेपाल युथ फाउन्डेसनका सञ्चालक निर्देशक रिसभराज गोर्खालीले बताए।
‘सुदूरपश्चिमबाट ललितपुर पुगेर युवाहरूले तालिम लिने गरेका छन्। त्यसैले धनगढीलाई केन्द्र बनाएर उपमहानगरपालिकासँग साझेदारी गरी टेक्निकल स्कुल चलाउने तय भएको हो,’ उनले भने, ‘उपमहानगरले हामीलाई चार बिघा जग्गा दिएको छ। अहिले चार विधामा तालिम चलाउने सहमति भएको छ। वर्षमा चार सय युवालाई लेवल वान तालिम दिने योजना छ।’
नेपाल युथ फाउन्डेसनले अबको डेढ वर्षभित्रमा उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा स्कुल भवन निर्माण गरी सक्ने छ। त्यसपछि तालिम लिनेहरूलाई तीन महिनासम्म निःशुल्क खाने र बस्ने सुविधा पनि स्कुलमै उपलब्ध हुनेछ। सुरूमा लेवल वानको तालिम दिने भए पनि माग बढे लेवल टुको तालिमसमेत दिन सकिने नेपाल युथ फाउन्डेसनका सञ्चालक निर्देशक गोर्खालीले बताए।
यो वर्षबाट इलेक्ट्रिकल, सिकर्मी, प्लम्बिङ र वेल्डिङको छोटो अवधिको तालिम दिन सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको उपस्थितिमा धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनका बीच सम्झौता भएको हो। सामाजिक विकास मन्त्री साउँदले युवा जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन भोकेसनल स्कुलको भूमिका महत्वपूर्ण हुने बताए।
उनले विश्व बजारमा बिक्न सक्ने, स्वरोजगार हुन सक्ने र रोजगारी सिर्जना गर्ने कार्यमा प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। ‘प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर काम गर्न तयार छ। शिक्षा क्षेत्रमा प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य पनि गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले के गर्नुपर्छ? भवन, खेलमैदान, घेरबार र आइसिटीका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार छ। शिक्षा र स्वास्थ्यको विकास गर्न सामाजिक विकास मन्त्रालय सदैव स्थानीय तहको साथमा रहनेछ।’
धनगढी भोकेसनल स्कुलको भवन निर्माण भए पश्चात् पाँच वर्षसम्म नेपाल युथ फाउन्डेसनले नै स्कुल चलाउने छ। पाँच वर्षपछि भने सो स्कुल उपमहानगरलाई हस्तान्तरण गरिनेछ। स्कुल भवन निर्माण हुँदा समय लाग्ने भएकाले यो वर्षबाटै फूलबारी बहुमुखी क्याम्पसको भवनमा ३९० घण्टे सहायक प्लम्बर तथा विल्डिङ इलेक्ट्रिसियन तालिम सुरू गरिएको र वेल्डिङ र सिकर्मी तालिक पनि लगत्तै सुरु हुने भएको छ।

