सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हुलाकी राजमार्ग निर्माणको काम यसै वर्ष पुरा हुने दाबी

२०८० असोज १२, ०८:३१ कमल सावद

धनगढीः कैलालीमा हुलाकी राजमार्ग निर्माणको काम यो वर्ष पूरा हुने बताएको छ। चालु आर्थिक वर्ष २०८०/०८१ भित्रै बाँकी कार्य सक्ने गरी स्तरोन्नति कार्यलाई गति दिइएको हो । 

गत आर्थिक वर्षमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य सुस्तगतिमा भएपछि स्थानीयले विरोध गरेका थिए। अब मेसिनले गर्ने काम मात्रै बाँकी रहेकाले निर्माण कम्पनीले कामलाई गति दिएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताए। ‘मान्छेबाट हुने काम सकिएको छ। अब मेसिनले गर्ने काम मात्रै बाँकी छ ।’ चालु आर्थिक वर्ष भित्रै स्तरोन्नतिको काम सकिने अपेक्षा गरिएको छ । 

राजमार्ग स्तरोन्नतिको अवधि भने आउँदो पुससम्म मात्रै रहेको छ। तर, पुसमा काम सम्पन्न हुने सम्भावना कम देखिएको छ। आवश्यक बजेट समयमै उपलब्ध भएमा चालु आर्थिक मसान्तभित्र काम पूरा हुन सक्ने जनाइएको छ । यो वर्ष कामले गति लिएको बेला बजेट कम रहेको इन्जिनियर सुनारले जानकारी बताए। 

हुलाकी राजमार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले ३८/३९ करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा ७५ करोड रुपियाँ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ बाट कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत धनगढीको गुरही चौक (क्याम्पस रोड)देखि मनेहरासम्म चार किलोमिटर खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य सकिएको छ । आगामी पुससम्म निर्माण म्याद रहेको यो खण्डमा वर्षाअगावै स्तरोन्नतिको काम सकिएको थियो । 

यसै गरी मनोहरादेखि पूर्वमा सत्तीसम्म दुई लेनको र टीकापुरदेखि लम्कीसम्म चार लेनको सडक स्तरोन्नतिको कार्य जारी छ । विभिन्न सात प्याकेजमा विभाजन गरेर स्तरोन्नतिको कार्य भइरहेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६४/६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु गरिएको थियो । सुरुमा भारत सरकारको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी राजमार्ग निर्माण गरेको थियो। 

तर सो कम्पनीले राजमार्ग निर्माण अधुरो नै छोडेर नेपाल सरकारलाई हस्तान्तरण गरेर गएपछि बाँकी रहेको काम नेपाल सरकारको लगानीमा भइरहेको छ । धनगढीको त्रिनगर भन्सारनजिक करिब एक सय मिटर क्षेत्रमा सडक बन्न बाँकी छ । 

सो क्षेत्रमा निर्माण कम्पनीले गत वर्ष नै कालोपत्रेको काम गरेर सकिसकेको छ । यसै गरी निर्माण अवधि सकिएको छ । अब अर्को ठेक्का गरेर मात्रै बाँकी रहेको एक सय मिटरमा कालोपत्रेको काम हुने बताइएको छ ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस