डोटीको सिलगढीको खानेपानीमा दिशाका कीटाणु फेला
डोटीः डोटी जिल्लाको सदरमुकाम स्थित दिपायल सिलगढी नगरपालिकाका उपभोक्ताले प्रयोग गर्ने खानेपानीमा कोलिफम (दिशाको कीटाणु) भेटिएको छ।
स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा पानीको मुहान देखि उपभोक्ताको घर सम्मका ७ वटा नमुनामा कोलिफम भेटिएको हो। स्वास्थ्य कार्यालय डोटीले सिलगढीमा आउने पानी अत्याधिक धमिलो हुनुका साथै कोलिफम भेटिएको जनाएको छ।
स्वास्थ्य कार्यालय डोटीका ल्याब असिस्टेन्ट निर्मल ओझाले पानीको मुहान मछेन्तोलामा ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम भेटिएको बताए। ‘जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान भएको छैन’ ल्याब असिस्टेन्ट ओझाले भने ‘दिशा के को हो हामी छुट्टाउन सक्दैनौँ तर पानीमा दिशाका कीटाणु छ।’
सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए। उनले भने ‘हामीले कोलिफमको मात्र बढ्ने बित्तिकै क्लोरिन हाल्ने गरेको छौँ कीटाणु मान्छेको नभई बस्तुभाउ र जङ्गली जनावरको हुन सक्छ।’