सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगर प्रहरी धनगढीका इन्चार्ज बर्खास्त, यस्तो रहेछ मुख्य कारण

२०८० असोज १०, ११:५२ खबर संवाददाता

धनगढीः नगर प्रहरी धनगढीका इन्चार्ज बर्खास्तमा परेका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख (सई) कृष्ण मल्ललाई जागिरबाट बर्खास्त गरिएको हो।

सोमबार उपमहानगरपालिकाले उनलाई जागिरबाट बर्खास्त गरेको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामलाल श्रेष्ठका अनुसार मल्ललाई सोमवार बर्खास्त गरिएको हो। नगर प्रमुख गोपाल हमालले गरेको स्थलगत छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएपछि बर्खास्तमा परेका थिए।

उनले कसैलाइ पनि जानकारी नदिई सम्पर्क बिहीन भएपछि बर्खास्त गरिएको उपमहानगरपालिकाले जनाएको छ। उनलाई यसअघि पनि पटक–पटक स्पष्टिकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। सोमबार परेको अविरल वर्षाले धनगढी जलमग्न हुन पुगेको थियो।

सो समयमा पनि उद्धारमा खटिनुपर्ने नगर प्रहरी प्रमुख मल्ल नगर प्रहरीको ब्यारेकमा समेत फेला परेका थिएनन्। सञ्चार सेटको सम्पर्कमा समेत नरहेको पाइएपछि उपमहानगरले उनलाई बर्खास्त गरेको हो। उपमहानगरभित्र हाल दुई दर्जन बढी नगरप्रहरी कार्यरत छन्। 

नगरप्रहरीले नगरवासीको सेवामा गर्नुपर्ने दायित्वबाट भाग्ने काम भएपछि मल्ललाई बर्खास्त गरिएको हो। उनी ड्युटी नै छोडेर राति घर भाग्ने गरेको समेत पाइएको छ। कञ्चनपुरको गुलरिया घर भएका मल्ललाई पटकपटक नगर प्रहरीको आचरणअनुसार काम गर्न सचेत गराउने काम समेत उपमहानगरले गर्दै आएको थियो। यति गर्दा पनि जिम्मेवारीबाट पन्छिने काम भएपछि बर्खास्त गर्नु परेको नगरप्रमुख हमालले बताए।

नगरवासीको हितमा काम गर्न सहज होस भनेर सुविधासम्पन्न नगर प्रहरीको ब्यारेक बनाइएको छ। उचित बासस्थानसहित आवश्यक सवारीसाधन समेत उपलब्ध गराइएको अवस्थामा मल्लले नगरवासीको उद्धारमा खटिनुपर्ने दायित्वबाट भागेर घर पुगेपछि बर्खास्त गर्नुबाहेकको विकल्प नभएको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस