सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सयको मृत्यु

२०८० असोज १०, ०७:२३

उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन्।

निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ। के कारणले आगलागी भएको भन्ने यकिन नभए पनि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको उल्लेख छ।

इराकी समाचार एजेन्सी निनाले दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ। भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ। 

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो। इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन्। सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस