सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा देहत्यागको डरलाग्दो तथ्यांक, तीन वर्षमा आठ सयले त्यागे प्राण

२०८० असोज ९, ०६:५६ नारायण अवस्थी

धनगढीः कैलालीमा देहत्याग गर्नेको संख्या डरलाग्दो रुपमा बढेको छ। पछिल्लो तीन वर्षको अवधिमा मात्र कैलालीमा ८१९ जनाले प्राण त्याग गरेको प्रहरीको तथ्यांकले देखाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको देहत्याग सम्बन्धि तथ्याङ्कमा आर्थिक वर्ष १०७७/७८ मा २६७ जनाले प्राण त्याग गरेका छन्।

झुन्डिएर २०३ जनाले देहत्यग गरेका छन् भने विष सेवन गरेर ६२ जनाले प्राण त्याग गरेको पाइएको छ। यस्तै, आगो लगाएर एक जना र हातहतियार प्रयोग गरेर एक जनाले आफ्नो ज्यान आफै हरण गरेका छन्। कैलालीमा झुन्डिएर तथा विष सेवन गरी देहत्याग गर्नेको संख्या अन्यको भन्दा बढी छ।

कैलालीमा आत्महत्याका घटना दैनिक घट्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। ‘कैलालीमा दैनिक एक या दुई देहत्यागका घटना हुने गरेको देखिन्छ। आत्महत्या गर्नेमा पुरुषको तुलनमा महिलाको संख्या बढी देखिन्छ,’ उनले भने, ‘कम पढेलेखेको ग्रामीण महिलाले आत्महत्या गरेको देखिन्छ। पढेलेखेकाले पनि गरेका हुन्छन् तर त्यो संख्या सानो छ।’

कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा २५९ जनाले देहत्याग गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुन्डिएर २२१ जनाले देहत्याग गरेका छन् भने विष सेवन गरेर ३७ र र आगो लगाएर १ जनाले देहत्याग गरेका छन्। घरायसी झगडा, प्रेम सम्बन्धमा समस्या, सम्बन्ध विच्छेद लगायत कारण देहत्याग गर्नुपर्ने परिस्थिति बन्ने गरेको प्रहरीको भनाइ छ।

गत आर्थिक वर्ष २०७९/८० मा कैलालीमा सबैभन्दा बढी २९३ जनाले मृत्युको बाटो अपनाएका छन्। जसमध्ये झुन्डिएर २१७ जनाले प्राण त्यागेका छन् भने विष खाएर ३५ जना, करेन्ट लगाएर ८ जना र हाम फालेर ३३ जनाको अकालमै मृत्यु भएको छ। पारिवारिक कलह, श्रीमान र श्रीमती बीचको असमझदारी, आर्थिक अभाव र अनैतिक सम्बन्धका कारण व्यक्तिले देहत्याग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्ने गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्दले बताए। ‘पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्ध र अनैतिक सम्बन्धका कारण आत्महत्याका घटना हुने गरेको हाम्रो अनुसन्धानबाट खुल्ने गरेको छ,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरूपयोग र दुर्व्यसनका कारण पनि आत्महत्या गर्ने अवस्था निर्माण गरेको देखिन्छ।’ कैलालीमा पुरुषभन्दा महिलाले देहत्याग गर्ने दर बढी रहेको प्रहरीले बताएको छ। हरेक व्यक्तिले अनुशासित भएर सकारात्मक जीवन निर्वाह गर्न सके देहत्याग गर्ने सोचको विकास हुन नपाउने प्रहरी दाबी छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस