लागुऔषधको ‘हटस्पट’ बन्दै कैलाली, ७३ महिलासहित ९२७ जना पक्राउ
धनगढीः कैलालीमा लागुऔषध मुद्दाका आरोपी दोब्बरले बढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले तयार गरेको तीन आर्थिक वर्षको तथ्याङ्कमा लागुऔषध मुद्दाका आरोपी हरेक वर्ष दोब्बरले बढ्न थालेको उल्लेख छ। लागुऔषध ओसारपसार, विक्रीवितरण र प्रयोगकर्तामा किशोरकिशोरी र युवाको संख्या उच्च देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।
‘कैलाली जिल्लामा तीन आर्थिक वर्षको लागुऔषध मुद्दामा पक्राउ पर्नेमा किशोर/किशोरी र युवाहरूको संख्या नै बढी छ,’ उनले भने, ‘कैलालीमा प्रदेशका अन्य जिल्लाको तुलनामा लागुऔषध प्रयोगकर्ता बढ्नुमा भारतसँगको खुला सिमाना र लागुऔषधको सहज आपूर्ति हुनु रहेको छ।’ कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारका ९१ मुद्दा दर्ता भएका छन्।
९१ मुद्दामा प्रहरीले १३२ जनालाई पक्राउ गरेको छ। यो आर्थिक वर्षमा ब्राउन सुगर ओसारपसारका ५५ मुद्दामा ६ महिलासहित ८३ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ। यस्तै, गाँजाका ३ मुद्दामा ४ जना, नाईट्रोभेट ओसारपसारका १४ मुद्दामा २० जना, स्पास्मोका ६ मुद्दामा १० जना, चरेसका ९ मुद्दामा ११ जना, क्लोरोफेनिरामाइन तथा कोडाइन फोस्पेट सिरप ओसारपसारका ३ मुद्दामा ३ जना र ट्रामाडोल ओसारपसारको एक मुद्दामा एक जना पक्राउ परेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।
प्रहरीले सुराकीको आधारमा ओसारपसारकर्ताहरूलाई पक्राउ गर्ने गरेको र सेवन गरीरहेको अवस्थामा सेवनकर्ता पक्राउ पर्ने प्रहरी नायव उपरीक्षक चन्दले बताए। ‘प्रहरीले सुराकी अर्थात् सूचनाको आधारमा पनि पक्राउ गर्दै आएको छ भने कहिलेकाही शङ्का लागेर चेकजाँच गर्दा पनि लागुऔषधको प्रयोग र ओसारपसार गरेको अभियोगमा पक्राउ गर्दै आएको छ,’ उनले भने, ‘कुनै बेला प्रयोगकर्ता अकस्मात पनि पक्राउ पर्ने गरेका छन्।’
आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा लागुऔषध शिर्षकमा २०१ मुद्दा दर्ता भएका छन्। यो वर्ष प्रहरीले २९७ जना पुरुष र १८ जना महिलासहित ३१५ जनालाई पक्राउ गरेको छ। यो वर्ष ब्राउन सुगर, नाइट्राभेट र चरेश ओसारपसारमा संलग्न भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा लागुऔषधका ३४८ मुद्दा दर्ता भएका छन्। यो वर्ष प्रहरीले ४७४ पुरुष र ४९ जना महिलासहित ५२३ जनालाई पक्राउ गरेको छ।
कैलालीमा ब्राउन सुगर अर्थात् खैरो हिरोइन सेवन र ओसारपसार गरेको अभियोगमा सबैभन्दा बढी व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। कैलालीमा किशोर/किशोरी तथा युवाहरू पहिलो चरणमै ब्राउन सुगरको दुर्व्यसनी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुल्ने गरेको छ। लागुऔषधको लतमा सुरूमै ब्राउन सुगरको सेवन गरेर पर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको प्रवक्ता चन्दको दाबी छ। ‘भारतसँगको खुला सिमानाको कारण कैलालीमा खैरो हिरोइनका दुर्व्यसनी बढी छन्।
दुर्व्यसनीले खैरो हिरोन सुरूमै सेवन गरेर लागुऔषधको लतमा परेको देखिएको छ। दुर्व्यसनी आफैं भारतको नजिकका बजारमा गएर खाएर आउने र साथमा पनि ल्याउने गरेको भेटिएको छ,’ प्रवक्ता चन्दले भने। कैलालीमा लागुऔषध प्रयोगकर्ताको संख्या निकै बढी रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी नियन्त्रणमा केबल २ प्रतिशत प्रयोगकर्ता आएको र बाँकी ९८ प्रतिशत समुदायमा लुकेर रहेको प्रहरी अनुमान छ।
प्रहरीले अन्य लागुऔषधको तुलनामा ब्राउन सुगर अर्थात् खैरो हिरोइन पटकपटक बरामद गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ३४६ ग्राम ७८६ मिलिग्राम, आर्थिक वर्ष ४६९ ग्राम ६१२ मिलिग्राम र आर्थिक वर्ष २०७९/८० मा ७९१ ग्राम ८४१ मिलिग्राम ब्राउन सुगर अर्थात् खैरो हिरोइन बरामद गरिएको छ। कैलालीमा मात्र सो अवधिसम्म ७३ महिलासहित ९ सय २७ जना पक्राउ परेका छन्।