सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले १९० जना जेष्ठ नागरिकलाई पठायो मुक्तिनाथ तीर्थयात्रामा

२०८० असोज ७, ०२:४० खबर संवाददाता

धनगढीः जीवनभर घरधन्दामै सिमित जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिकाले तीर्थयात्रामा पठाएको छ। आज धनगढी उपमहानगरपालिकाले नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो। नगर प्रमुख गोपाल हमाललगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हु्न।

उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए। ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’ मेयर हमालले भने, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हे¥यो भन्ने हुन्छ।

यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्नेछ।’नगरप्रमुख हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए। आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो।

प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ। उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए। उनले वृद्धवृद्धहरूको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताए।

यो वर्ष पाँचवटा एसी बसमा तीर्थालुहरूलाई मुक्तिनाथ तीर्थयात्रामा पठाइएको छ। तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ। यसअघि पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो।

कमेन्ट लोड गर्नुस