सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर क्वारिन्टिनबाट विश्व खाद्यका ३० गाडी चामल पास

२०८० असोज ७, १०:५६ कमल सावद

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट हुने आयात–निर्यात ठप्प रहेका बेला विश्व खाद्यको चामल भने भित्रिएको छ।

गत साउन २८ गते देखि प्लान क्वारिन्टिन टुर मुकाम कार्यालय मोहनामा कर्मचारी नहुँदा आयात–निर्यात ठप्प भएकोमा विश्व खाद्यको चामल आयातका लागि भने केन्द्रबाट कर्मचारी पठाइएको हो। केन्द्रबाट आएका कर्मचारीले विश्व खाद्यको चामल मात्र परिक्षण गरेको छ। प्लान क्वारिन्टिन कार्यालयका कर्मचारीका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छैन। कार्यालय नै खारेजी भएको भन्दै त्रिनगर नाकाबाट हुने आयात र निर्यात ठप्प हुन पुगेको छ।

त्रिनगर नाकाबाट विश्व खाद्यको चामल आयातका लागि केन्द्रबाटै कर्मचारी आइपुगेका हुन्। भारतबाट गौरीफन्टा–त्रिनगर नाका हुँदै ३० गाडी विश्व खाद्यको चामल आयात गरिएको छ। अहिलेसम्म विश्व खाद्यको चामल आयातको क्रम जारी नै छ। प्लान क्वारिन्टिनमा कर्मचारी नभएकाले संघबाट आएका कर्मचारीले परीक्षण गरेपछि चामल नेपाल भित्रिएको छ। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले विश्व खाद्यको चामल आयातका लागि केन्द्रबाट कर्मचारी आएका बताए। उनले भने, ‘विश्व खाद्यको चामल आएको हो। केन्द्रबाट कर्मचारी आएका हुन्। तर, व्यापारीका सामान आएका छैनन्।’

त्रिनगर प्लान क्वारिन्टिन कार्यालयमा कर्मचारी नभएकाले धनवतीसहित सुदूरपश्चिमका व्यवसायीले नेपालगन्जको नाका प्रयोग गर्दै आएका छन्। सुदूरपश्चिममा खाद्य, पोल्टि तथा अन्य कुनै पनि सामान आयात र निर्यात ठप्प रहेका बेला विश्व खाद्यको चामलका लागि भने संघबाट कर्मचारी आएका हुन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यापारीको सामान आयात पूर्ण रूपमा बन्द रहेको बताए। उनले भने, ‘खाद्यको चामल आयो। केन्द्रबाट कर्मचारी आएका रहेछन्। तर, व्यापारीका कुनै सामान आएको छैन।’

नेपालगन्जबाट आयात गर्दा गाडी भाडा महँगो पर्न जाने र त्यसको असर उपभोक्तासम्म पर्दैछ। तर, त्रिनगरमा संघ सरकारले कर्मचारीको व्यवस्था गरेको छैन्। सुदूरपश्चिमका उद्योगहरू कच्चा पदार्थ अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। एक महिनादेखि त्रिनगरबाट आयात–निर्यात बन्द हुदा पनि सरकार मूकदर्शक भएको छ। भारत तथा तेस्रो मुलुकबाट सुदूरपश्चिममा हुने खाद्यान्न, फलफूल र तरकारीको आयात रोकिँदा, यहाँका खाद्य उद्योग समस्यामा परेका छन्। त्रिनगर नाका भएर दैनिक २० देखि २५ ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले प्लान क्वारिन्टिन टुर मुकाम बन्द भएको खबर आएको बताए। उनले भने, ‘टुर मुकाम हो। कर्मचारीको लागि बजेट आएन। बन्द भयो भन्ने छ।’

सीमा नाकामा सरकारले प्लान्ट, पशु र खाद्य क्वारेन्टिन कार्यालय खोलेको छ। प्लान्ट क्वारेन्टिनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ। त्रिनगर नाका हुँदै ठुलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस