फेसबुकको चक्करमा मायाजाल, बेचबिखनमा परेपछि जीवन बर्बाद
धनगढीः सामाजिक सञ्चालका विभिन्न माध्यमबाट जोडिएर पछिल्लो समय मायाजालमा फस्नेहरु बढ्न थालेका छन्। सहरदेखि गाउँघरसम्म सामाजिक सञ्चाल अन्तर्गत सबैभन्दा बढी प्रचलनमा रहेको फेसबुकको पहुँच विस्तार भएसँगै यसैको माध्यमबाट मायाप्रेम गाँस्नेहरु बढेका छन्।
सामाजिक सञ्चाल कसैलाई बरदान सावित भएको छ भने धेरैका लागि जीवन बर्बादिको माध्यम। आजकल सामाजिक सञ्चालमा राम्रा–नराम्रा सबै विषयहरु देख्न, सुन्न र अपनाउन सकिन्छ। सामाजिक सञ्चाल फेसबुकको चक्करमा परेर कति धेरै युवती तथा किशोरीहरुको जीवन बर्बाद भएका घटना पनि बेलाबखत सार्वजनिक भइरहेका छन्। फेसबुकमा बसेको मायाजालमा फसेर कति धेरै युवती एवं किशोरी बेचबिखनमा परेका घटना समेत सार्वजनिक हुन थालेका छन्।
विवाह र धनसम्पत्तिको प्रलोभनमा परेर कयौँ किशोरीहरु दुर्गम गाउँघरबाट भारतका ठुलठुला सहरसम्म पुगेर बेचबिखनमा परेको सामाजिक संघसंस्थामा क्रियाशिल अभियन्ताहरु बताउँछन्। सुदूरपश्चिममा मानव बेचबिखनका घटना पछिल्लो समय सामाजिक सञ्चालका कारण पनि बढ्न थालेका छन्। मानव बेचबिखनमा संलग्न दलालहरुले पछिल्लो समय गाउँघरका सोझासाझा महिलाको गलत फाइदा उठाएर भारतका विभिन्न सहरमा लगेर जबरजस्ती करणी गर्ने र अन्तिममा बेचबिखन गर्ने काम हुँदै आएको छ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ५४ जना विरुद्ध मुद्दा नै चलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ। २०७७ सालमा २४, २०७८ मा ९ तथा गत वर्ष ११ जना विरुद्ध मानव बेचबिखन विरुद्ध मुद्दा चलाइएको हो। यस कार्यमा संलग्न दलालहरुले पछिल्लो समय सामाजिक सञ्चालन अन्तर्गत फेसबुकको माध्यमबाट सोझासाझा महिलाहरुलाई मायाजालमा पारेर विवाह गर्नेभन्दै डाँडा कटाउने काम हुँदै आएको छ।
माइती नेपाल कञ्चनपुरमा मात्र यस वर्ष खोज तलासका लागि १ सय १८ महिला तथा बालबालिकाको निवेदन परेको छ। यसमा पनि धेरैजसो सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारततर्फ गएको हुन सक्ने आंशका गरिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा १ सय ३९ महिला बेपत्ता भएका छन्। तीन वर्षमा प्रहरीकहाँ खोज तलासका लागि हराएको भनि ७ सय ७५ निवेदन परेका थिए।
यसैगरि तीन वर्षमा ४४ बालिका हराएका छन्। प्रहरीमा २ सय ६० बालिका हराएको भन्दै खोजीका लागि निवेदन नै परेका छन्। माइती नेपालले २०२३ मा हालसम्म भारतबाट १४ जनाको उद्धार गरेको छ। यीमध्ये धेरैजसो महिला एवं किशोरी बेचबिखनमा परेको हुन सक्ने सम्बद्ध अधिकारीहरु बताउँछन्।
सामाजिक सञ्चालको गलत फाइदा उठाउँदै दलालहरुले कयौँ युवती तथा किशोरीको जीवन बर्बाद गरेका घटना समेत माइती नेपाल लगायत संघसंस्थाहरुले अभिलेखको रुपमा राखेका छन्। केहि समयअघि मात्रै कञ्चनपुरका एक युवकले कैलालीकी एक युवतीसँग फेसबुकबाटै मायाप्रेममा पारेर अन्तिममा धुमधामसँग विवाह गरेर ती युवतीलाई भारत लगेका थिए।
तर केहि समयपछि तीनै युवकले ती युवतीलाई देहव्यापारमा लगाउन खोजेको विषय समेत बाहिर आएको थियो। तर ती युवतीले त्यस्तो कार्य गर्न नमानेपछि हत्या नै भएको समेत खुलेको थियो। यसरी सामाजिक सञ्चालको चक्करमा परेर धेरै सोझासाझा महिलाहरुले जीवन बर्बाद बनाएका उदाहरण यत्रतत्र देखा परिरहेको अवस्थामा यस्तो कार्यबाट जोगिनुको विकल्प नभएको सम्बद्ध अधिकारीहरु बताउँछन्।