सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० करोडको लागनीमा नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन गरिदै

२०७६ वैशाख १३, ०१:३३ जनक विष्ट

नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खननको तयारी अन्तीम चरणमा पुगेको छ। चार वर्ष अघि प्रक्रिया थालेको टोरेक्स माईन्स नेपाल प्रालीले सिसा खानी उत्खननको तयारी अन्तीम चरणमा पुगाएको हो। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ को बरमुडेमा तीनचार दिनभित्रै सिसा खानी उत्खननको काम थालिने टोरेक्स माईन्स नेपाल प्रा. लि ले जनाएको छ।

लगानी कर्ता मध्येका एक जना प्रेम धामीले खानीसम्म पुग्नका लागि सडकको ट्रयाक खोल्ने काम दुई दिन भित्रै सकेर लगतै उत्खनन सुरु गरिने जानकारी दिए। टोरेक्स प्रा. लि ले नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन गरिरहेको हो। उत्खननमा सहजीकरणका लागि खानी तथा भु–गर्भ विभागको सहयोग मागिएको छ। सुदूरपश्चिम र काठमाडौँका १० जनाको झण्डै १० करोडको संयुक्त लगानीमा उत्खनन गरिन लागेको सिसा खानीबाट इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग हुने लिड नामक कच्चा पदार्थ निकालिने  लगानी कर्ता धामीले बताए।

नेपाल सरकारले दिएको अनुमती अनुसार उत्खनन सुरु गरेपछि खानीबाट दैनिक १५ टन कच्चा पदार्थ निकालेर प्रशोधनका लागि भारत निर्यात गरिने उनले बताए। धामीले खानीबाट ढुङ्गा जस्तै वस्तु निकालिने भए पनि क्रेसरको सहायताले मसिनो बनाई प्रशोधनका लागि भारत पठाईने बताएका छन्। नेपालमा कच्चा पदार्थ प्रशोधन गर्ने उद्योग स्थापना नभएको कारण तत्काल भारत निर्यात गरिने भए पनि पर्याप्त कच्चा पदार्थ उत्पादन भए विकल्प खोजिने लगानी कर्ताहरुले बताएका छन्।

 

लामो सयमको अध्ययन र संघर्षपछि झण्डै १० करोडको लगानीमा नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन सुरु भएपछि प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। दार्चुलाको महाकाली नगरपालिकाकी उप–प्रमुख सानु बोहोराले सिसा खानीले आर्थिक विकासमा ठुलो टेवा पुगाउने विश्वास व्यक्त गरिन्। बोहोराले खानी सञ्चालनमा आएमा स्थानीयले रोजगारीका अवसर समेत  पाउने भएकाले सिसा खानी सञ्चालनमा आउनु सुखद पक्ष भएको विचार व्यक्त गरेकी छन्।

स्थानीयमा सीपको विकाससंगै सरकारले समेत राजस्वको ठुलो हिस्सा खानीबाट पाउनेछ। तर लगानी कर्ताहरुले भने विगतमा सरकारले आश्वासन मात्र दिएको बताएका छन्। लगानी कर्ता प्रेम धामीले अहिलेसम्म सरकारबाट आश्वासन बाहेक अन्य सहयोग नपाउँदा दुःख लागेको बताए। आउँदा दिनहरुमा संघ, प्रदेश र स्थानीय सरकारबाट सहयोग पाउनेमा आशावादी रहेको विश्वास धामीले व्यक्त गरे। दार्चुलामा सिसा जस्तै तामा, फलाम, सुन तथा चमेलिया नदी किनार क्षेत्रमा युरेनियमको खानी रहेको समेत अध्ययन अनुसन्धानले देखाएको छ। तर कानुनी जटिलता र लगानी अभावले तीनको उत्खनन नहुँदा लाभ हासिल गर्न सकेका छैनन्।  
 
 

   

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस