सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीनको औपचारिक भ्रमण गर्दै 

२०८० असोज ६, ०७:५५ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लागेका हुन्।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन्।

मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले हाङ्जाओमा चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै बेइजिङमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

उनले सीसीआईटी, एफएनसीसीआई र बेइजिङस्थित नेपाली दूतावासले संयुक्तरुपमा आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड आज हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने र नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको यो भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सहयोगका क्षेत्रलाई विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस