सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका : सरकारी अधिकारीको गलत तथ्यांक, ज्यान गुमाउनेको संख्या २५३

। फोटो स्रोत ।
२०७६ वैशाख १३, ०१:२७ खबर संवाददाता

श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ। श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ। सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको बीबीसीले उल्लेख गरेको छ। श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या संख्या २ सय ५३ जना रहेको छ।

यसअघि बिहीबार बेलुकासम्ममा ३ सय ६० जनाभन्दा बढीको ज्यान गएको बताइएको थियो । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए। श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो। 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ। तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ। यो समूहलाई अन्तर्रा्ष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ। आइतबारको बम आक्रमणको घटनालाई लिएर श्रीलंकाका रक्षा सचिव हेमासिरी फर्नान्डोले बिहीबार पदबाट राजीनामा दिएका छन्।

आक्रमणको पूर्वजानकारी भए पनि सुरक्षा मामिला हेर्ने अधिकारीहरुले राजनीतिक नेतृत्वलाई जानकारी नगराएको तथ्य सार्वजनिक भएपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनीहरुलाई पद छोड्न निर्देशन दिएका थिए।
 

कमेन्ट लोड गर्नुस