सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्ग दशैपछि मात्र कालोपत्र हुने

२०८० असोज ४, ०२:४० कमल सावद

धनगढीः धनगढी–दीपायल द्रुतमार्ग दशैपछि मात्र कालोपत्र हुने भएको छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम दशैपछि मात्र हुने भएको हो। 

डोटीमा ६ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा दशैपनि मात्र कालोपत्रको काम सुरु हुने योजना कार्यालयले जनाएको छ। धनगढी–खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग कालोपत्रका लागि ४३ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकोमा ६५ प्रतिशत मात्र काम पूरा भएको छ। 

सडक कालोपत्रका लागि तयारी थालिएकाले दशैपछि मात्र काम सुरु हुने योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए। उनले भने, ‘कालोपत्र सुरु भएको छैन। बेसको काम हुँदैछ। कैलालीमा दशैपछि हुन्छ। डोटीमा ६ किलोमिटर कालोपत्र भएको छ। बेसको काम हुन्छ। केही दिनमा कालोपत्र हुन्छ। कैलालीमा समय लाग्ने देखिएको छ। दशैपछि मात्र सुरु हुन्छ।’

धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दीपायल–बाजमोर्ड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो। थप कैलालीमा साढे ६ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ। चार ठेक्कामा औसतमा ६५ प्रतिशत भौतिक प्रगति पुगेको छ। निर्माण कम्पनीले मयाद थपका लागि निवेदन दिएको छ। तर, म्याद नसकिएकाले प्रक्रिया थालिएको छैन। 

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र पारिएको छ। बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेको हो। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ। सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २५ करोड विनियोजन गरेको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस