सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको मेसुमा डाक्टर कमरको इन्ट्री, यस्ता छन् सुधारका योजना

२०८० असोज २, ०६:५२ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालको सुधारका लागि काम गर्ने नवनियुक्त  मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले प्रतिबद्धता जनाएका छन्। अस्पतालमा देखिएका समस्या समाधान गर्न सबै पक्षसँग समन्वय र सहकार्य गर्ने डाक्टर कमरको योजना छ। सेती अस्पतालमा आउने सबै किसिमका बिरामीलाई सेवा पु¥याउन तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताएका छन्।

‘बिरामीको उपचार गर्न नियमानुसार काम गर्ने र विभिन्न कारणले सिर्जना भएका समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने छौँ,’ उनले भने, ‘सबैको सहयोग लिएर अस्पतालको सेवा सुधार गर्न  प्रयास गरिनेछ।’

सेती अस्पतालले राम्रो गरेका कामहरूको समेत जस लिन नसकिएको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले अस्पतालको सेवा प्रभावकारी र पारदर्शी बनाउन अस्पतालको वेबसाइट निर्माण गर्ने, अस्पतालका सम्पूर्ण सूचना र तथ्याङ्क वेबसाइटमा राख्ने, अस्पतालका अध्यक्ष, मेसु, प्रवक्ता र सूचना अधिकारीको आधिकारिक मोबाइल नम्बरको व्यवस्था गर्ने र बिरामी र सर्वसाधारणका गुनासा र समस्या समाधान गर्न सदैव तत्परताका साथ काम गर्ने नवनियुक्त मेसु डाक्टर कमरले योजना बनाएका छन्।

सेती अस्पतालमा उपचार पाउन समस्या भएको गुनासो बिरामीहरूले गर्दै आएका छन्। बिरामीले गुनासो गर्न नपरोस् भनेर आकस्मिक कक्ष, प्रसूति वार्ड र रेडियोलोजी विभागमा जनशक्ति थप गरिने भएको छ। यस्तै, ओपिडी र टिकट काउन्टरमा हुने भीड व्यवस्थापन गर्ने उपाय अपनाइने छ भने  शल्यक्रिया गर्नुपर्ने बिरामीले महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने भएको छ।

अल्ट्रासाउन्ड गराउन आउने बिरामीको त्यहीँ दिन अल्ट्रासाउन्ड गर्ने, सबै विभागको क्लिनिकल अडिट राखिने भएको छ। अस्पतालका सबै विभागलाई व्यवस्थित बनाउने, चिकित्सक र स्वास्थ्यकर्मीको उत्प्रेरणा बढाउने योजना ल्याउने, प्रसूति वार्ड र आकस्मिक कक्षमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने, अस्पतालको स्तर वृद्धिका लागि काम गर्ने र बिरामीका समस्या समाधान गर्न २४ सैं घण्टा सम्पर्कमा रहने नवनियुक्त मेसु डाक्टर कमरले बताएका छन्।

नवनियुक्त मेसु डाक्टर कमरले सेती अस्पतालमा प्यारामेफिक्सको पढाइ सञ्चालन गर्ने, विशेष सेवा प्रदान गर्न अस्पतालको क्षमता विकास गर्न अस्पताल विकास समिति, प्रदेशको सामाजिक विकास मन्त्रालयसँग निरन्तर समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस