सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षदिनभित्र भएका प्रगति सार्वजनिक, यस्ता छन् प्रमुख उपलब्धिहरु

२०८० असोज २, १२:३६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगपालिकाले नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एक वर्षमा उपमहानगरले सम्पादन गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। सोमबार आयोजित कार्यक्रममा उपमहानगरले निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, आमा बचाऊ अभियान, क्यान्सर स्वास्थ्य शिविर सञ्चालन, बजार क्षेत्रको मुख्य सडक विस्तार, आवधिक योजना निर्माण, सार्वजनिक जमीन, खोला, तालको अतिक्रमण हटाउने अभियान र प्लाष्टिक सामग्रीमा प्रतिबन्ध लगाएको जनाएको छ।

उपमहानगरले फोहरमैला व्यवस्थापन, उज्यालो धनगढी कार्यक्रम, हरियाली प्रवर्द्धन कार्यक्रम, स्मार्ट शौचालय निर्माणको सुरुवात, चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण र संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक कार्यक्रम गरिएको सार्वजनिक प्रगति विवरणमा देखाइएको छ। उपमहानगरले एक वर्षमा धनगढीको विकास गर्न सबै पक्षबाट अतुलनीय सहयोग र लगानी प्राप्त भएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताए।

‘धनगढी उपमहानगरपालिकाले एक वर्षको अवधिमा सबैको सहयोगले महत्वपूर्ण काम गर्न सफल भएको छ,’ उनले भनिन्, ’धनगढीको विकासका लागि संघ, प्रदेश र नगरवासीबाट अतुलनीय सहयोग मिलेको छ।’ धनगढी उपमहानगरपालिकाले नगरवासीको विश्वास आर्जन गरेर विकास निर्माणका कामहरू भइरहेको जनाएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका लागि उपमहानगरले संघ प्रदेश र नगरवासीसँग सहकार्य गर्ने रणनीति लिएको छ।

पूर्वाधार विकासका लागि संघ र प्रदेश सरकारसँग सहकार्य र साझेदारी गरिरहेको उपमहानगरले शिक्षाको विकासका लागि एक वडा एक नमुना विद्यालय कार्यक्रम अगाडि सारेको छ। शिक्षा जीवनको आधार भएकाले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा हासिल गर्ने अवसर पाउन सहज होस् भनेर हरेक वडामा कम्तिमा एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिने भएको छ।

जसका लागि हरेक वर्ष पाँच नयाँ विद्यालयलाई नमुना बनाउदै लग्ने नगर प्रमुख गोपाल हमालले बताए। ‘शिक्षामा सुधार गर्न सकिएन भने देशको भविष्य राम्रो बन्दैन। त्यसैले उपमहानगरपालिकाले शिक्षामा सुधारको अभियान थालेको छ,’ उनले भने,’ ‘हेरक वर्ष धनगढीका पाँच विद्यालयलाई नमुना बनाएर गुणस्तरीय शिक्षाको सुनिश्चितता प्रदान गरिने छ।’ धनगढी उपमहानगरपालिकाको समग्र विकासमा प्रदेश सरकारले सदैव उदार भएर सहकार्य र सहयोग गर्ने भएको छ।

धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्मको मुख्य सडका निर्माणका लागि बजेट उपलब्ध गराएको प्रदेश सरकारले नगरका विभिन्न वडाका करिव चार दर्जन सडक निर्माण गर्न चालु बजेटमै योजना समावेश गरेको छ। धनगढीको सडक, ढल निकास, खानेपानी व्यवस्थापन र डुबान समस्या समाधान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै योजना समावेश गरिएकाले आगामी तीन वर्षमा धनगढीमा देखिने गरी विकास हुने प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताए।

‘संघ, प्रदेश र स्थानीय तह मिलेर विकासका साझेदारी गर्दा राम्रो प्रतिफल मिल्छ। धनगढीको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने, ’धनगढीको मुख्य सडक जस्तै नगरका अन्य महत्वपूर्ण सडकहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको छ। अबको तीन वर्षमा धनगढीमा देखिने गरी विकास हुनेछ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस