सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा एकै दिनमा डेंगुबाट तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

२०८० असोज १, ०५:२४ खबर संवाददाता

एजेन्सीः  बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेंगुका बिरामी फेला परेका छन्।

यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ। प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ। ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेंगुका बाँकी बिरामी भर्ना भएका छन्। ढाकामा १० हजार ४३७ डेंगुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन्।

यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेंगु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ। यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। यसैबीच युनिसेफले बङ्गलादेशलाई डेंगुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस