सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सामाजिक अपराधका घटना बढ्दै, दुई हजार बढी केस प्रहरीमा

२०८० भदौ ३०, ०६:३४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र सामाजिक अपराधका घटनामा वर्षेनि वृद्धि हुँदै गएको छ। प्रदेश प्रहरीले तयार गरेको तथ्याङ्कले सुदूरपश्चिममा सामाजिक अपराका घटनामा बढोत्तरी भएको देखाएको छ। पछिल्लो तीन आर्थिक वर्षको अवधिमा मात्र यस्ता दुई हजार २२३ वटा सामाजिक अपराधका घटना प्रहरीमा दर्ता भएका छन्।

प्रदेशभर सबैभन्दा बढी सार्वजनिक शान्ति विरुद्धको कसुरका घटना घटेका छन्। आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक शान्ति विरुद्धको कसुरका ४७७ वटा घटना घटेका छन् भने आर्थिक वर्ष २०७८/७९ मा बढेर ६२२ घटना प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/८० मा भने सार्वजनिक शान्ति विरुद्धका घटनामा कमी आएर २११ मा सिमित बन्न पुगेको छ।

प्रदेशभित्र तीन आर्थिक वर्षको अवधिमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धका ७१७ घटना प्रहरीमा दर्ता भएका छन्। जसमध्ये आर्थिक वर्ष २०७७/७८ मा ११०, आर्थिक वर्ष २०७८/७९ मा १३२ र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ४७५ घटना घटेको प्रहरीको प्रहरीको तथ्यांकले देखाएको हो।

सो अवधिसम्म आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धीका २७ घटना घटेका छन्। आर्थिक वर्ष २०७७/७८ मा १०, आर्थिक वर्ष २०७८/७९ मा ११ र आर्थिक वर्ष २०७९÷८० मा ६ घटना घटेका छन्। त्यस्तै, तीन वर्षको अवधिमा मात्र नागरिकता सम्बन्धी ९ घटना प्रहरीमा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७७/७८ मा २, आर्थिक वर्ष २०७८/७९ मा ४ र आर्थिक वर्ष २०७९/८० मा तीनवटा नागरिकता सम्बन्धी कसुर प्रहरीमा आएको तथ्याङ्कले देखाएको छ। प्रदेशमा कुटपिट वा अङ्गभङ्ग सम्बन्धीका १३ घटना घटेका छन्। आर्थिक वर्ष २०७७/७८ मा १० तथा आर्थिक वर्ष २०७९/८० मा ३ घटना घटेका हुन्। यसैगरी राज्य विरुद्धका दुई कसुर प्रहरीमा दर्ता भएका छन्।

दुबै कसुर आर्थिक वर्ष २०७७/७८ मा घटेका हुन्। सो अवधिसम्म भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी ११८ घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ घटना घटेकोमा आर्थिक वर्ष २०७८/७९ मा २२ र आर्थिक वर्ष २०७९/८० मा ९५ वटा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर घटेका छन्।

त्यस्तै २७ वटा जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर घटाइएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १७, आर्थिक वर्ष २०७८/७९ मा ४ र गत आर्थिक वर्षमा ६ वटा जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुरका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस