बेरोजगारलाई निःशुल्क सीप सिकाउन धनगढीमा भोकेसनल स्कुल स्थापना हुँदै
धनगढीः कैलालीको धनगढीस्थित फूलबारीमा भोकेसनल स्कुल स्थापना हुने भएको छ। बेरोजगार युवाहरूलाई छोटो अवधिका व्यावसायिक तालिम निःशुल्क उपलब्ध गराउन भोकेसनल स्कुल स्थापना हुने भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा धनगढी भोकेसनल स्कुल चलाउन उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन बीच सहकार्य हुने भएको छ।
काठमाडौंको नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा छोटो अवधिका सीपमुलक तालिम दिन फूलबारीमा आवासीय सुविधा सहितको विद्यालय निर्माण गर्न दुबै पक्षबीच सहमति भएको छ। स्कुल भवन बन्न केही समय लाग्ने भएपछि यो वर्षबाट इलेक्ट्रिकल, सिकर्मी, प्लम्बिङ र वेल्डिङको छोटो अवधिको तालिम दिन सुरु गरिएको नेपाल युथ फाउन्डेसनकी कार्यक्रम प्रबन्धक लक्ष्मी घिमिरेले बताइन्।
‘नेपाल युथ फाउन्डेसनले धनगढी उपमहानगरसँग मिलेर चारवटा विधामा बेरोजगार युवाहरूलाई छोटो अवधिको तालिम दिने भएको छ,’ उनले भनिन्, ‘इलेक्ट्रिकल, सिकर्मी, प्लम्बिङ र वेल्डिङको तालिम दिएर युवाहरूलाई रोजगार हुन समेत सहजीकरण गर्ने सम्झौता गरिएको छ।’ उपमहानगरले भोकेसनल स्कुल खोल्न युथ फाउन्डेसनलाई फूलबारीमा जग्गा उपलब्ध गराइसेको छ।
नेपाल युथ फाउन्डसनले उक्त जग्गामा तालिम गर्नेहरूका लागि आवासीय सुविधासहितको स्कुल भवन निर्माण गर्नेछ। भवन निर्माण गर्न समय लाग्ने भएकाले यो वर्ष फूलबारी क्याम्पसको भवनमा तालिम सुरू गरिएको नेपाल युथ फाउन्डेसनकी कार्यक्रम प्रवन्धक घिमिरेले बताइन्।
धनगढी भोकेसनल स्कुलको भवन निर्माण भए पश्चात् पाँच वर्षसम्म नेपाल युथ फाउन्डेसनले नै स्कुल चलाउने छ। पाँच वर्षपछि भने सो स्कुल उपमहानगरलाई हस्तान्तरण गरिनेछ। स्कुल भवन निर्माण हुँदा समय लाग्ने भएकाले यो वर्षबाटै फूलबारी बहुमुखी क्याम्पसको भवनमा ३९० घण्टे सहायक प्लम्बर तथा विल्डिङ इलेक्ट्रिसियन तालिम सुरू गरिएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए।
‘उपमहानगरले संस्थालाई स्कुल भवन निर्माण गर्न जग्गा प्रदान गरिसकेको छ। त्यसमा भवन बन्न दुई वर्ष जति लाग्छ होला। त्यसेले यो वर्षबाट नै क्याम्पसको भवनमा तालिम सुरू गरिएको छ। स्कुल भवन बनेपछि युवाहरूलाई आवासीय सुविधासहित निःशुल्क विभिन्न विधामा तालिम दिइनेछ,’ डिभिजनल इन्जिनियर भट्टले भने।