बहुविवाह गर्ने शिक्षकलाई विशेष सजाय हुने

काठमाडौंः आज (बु्धबार) संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ। उक्त विधेयकमा शिक्षकले बहुविवाह गरेको खण्डमा विशेष सजाय हुने व्यवस्था गरेको छ।
नेपालमा बहुविवाह दण्डनीय रहेको छ। मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ। विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले विवाह गर्न नहुने व्यवस्था रहेको छ।
बहुविवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ। आज संशोधित दर्ता विधेयकमा ‘शिक्षकले बहुविवाह गर्न हुँदैन। बहुविवाह प्रचलित कानुनबमोजिम दण्डनीय भएकाले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था पस्तुत ऐनमा गरिएको छ,’– विधेयकमा भनिएको छ।



