सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग पाकिस्तानको लज्जास्पद हार

२०८० भदौ २६, ०६:०८ खबर संवाददाता

काठमाडौं: एसिया कपमा भारतले पाकिस्तानलाई ठूलो रन अन्तरले पराजित गरेको छ। वर्षाका कारण आइतबार रोकिएर सोमबार पुनः सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो। 

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो। त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३–२३ रन बनाए। कप्तान बाबर आजम भने १० रनमै आउट भए। पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन्। शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे।

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो। ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप ४ विकेट गुमाउन पुग्यो।  भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १–१ विकेट लिए।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले। कोहलीले १२२ रन बनाए। कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए। ओडिआइमा उनले २ सय ७८ खेमा १३ हजार रन पूरा गरेका हुन्। 

त्यस्तै केएल राहुल १११ रन बनाएर नटआउट रहे। आइतबार वर्षाले खेल रोकिँदा भारत २४ दशमलव १ ओभरमा १४७र२ को अवस्थामा थियो। त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चुनौती खडा गरेका हुन्।

पाकिस्तानका लागि शाहीन साह अफ्रिदी र शादाब खानले १–१ विकेट लिए। यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए।

कमेन्ट लोड गर्नुस