सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतद्धारा पाकिस्तानलाई ३५७ रनको लक्ष्य

२०८० भदौ २५, ०८:०५ खबर संवाददाता

एसीसी एशिया कपको सुपर फोरअन्तर्गतको खेलमा आज भारतले पाकिस्तानलाई जितका लागि ३५७ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेटमात्र गुमाएर ३५६ रन बनायो। भारतका लागि विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा अविजित १२२ रनको योगदान गरे। केएल राहुल १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रनमा अविजित रहे।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा विराटको यो ४७औँ र राहुलको छैटौं शतक हो। विराटले यसै खेलमा आफ्नो १३ हजार रनसमेत पूरा गरे। यसैगरी शुभमन गिल ५२ बलमा १० चौका हान्दै ५८ रन र कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्का हान्दै ५६ रन बनाएर आउट भए।

पाकिस्तानका लागि सादाब खान र शाहीन शाह अफ्रिदीले १÷१ विकेट लिए। पाकिस्तानलाई हराएर भारत सुपर फोरको शानदार सुरुआत गर्न चाहन्छ। पहिलो खेलमा बंगलादेशलाई हराइसकेको पाकिस्तान लगातार दोस्रो खेल जितेर फाइनल पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ। सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत छन्।
 

कमेन्ट लोड गर्नुस