सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहिले हुन्छ घुस खाएको आरोप लागेका वन निर्देशक भट्टलाई कारबाही?

२०८० भदौ २५, ०२:२५ खबर संवाददाता

धनगढीः  साउन ३२ गते सुदूरपश्चिमका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले घुस खाएको र मन्त्री र प्रदेश सभा सदस्यलाई अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको थियो। निमित्त वन निर्देशक भट्टको भिडियो सार्वजनिक भएपछि  प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले भदौ ३ गते निमित्त निर्देशक भट्टलाई स्पष्टिकरण सोधेका थिए भने भदौ ६ गतेबाट मन्त्रालयमा लाइन हाजिर लगाउने पत्र थमाएका थिए।

यसैगरी प्रदेश सभाको सार्वजनिक लेखा समितिले उपसमितिले गठन गरेर सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टको भिडियोबारे छानबिन थालेको थियो। प्रदेश सभाको सार्वजनिक लेखा समितिका सदस्य मानबहादुर धामीको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिमा बिरबहादुर थापा, खेमादेवी विष्ट, बेलबहादुर राना मगर र टीका थापालाई सदस्य बनाइएको थियो।

भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र अनुदान रकम दुरुपयोग गरेको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उक्त छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको थियो। उपसमितिले भट्टलाई ९ प्रश्न सोधेको थियो। भट्टले भिडियोमा देखाइएको व्यक्ति आफू भए पनि त्यसमा बोलेको कुरा आफ्नो नभएको दाबी गरेका थिए।

वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सार्वजनिक भएको थियो। सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका संयोजक मानबहादुर धामीले निमित्त निर्देशक भट्ट माथिको छानबिन सकिएको बताएका छन्। आज (सोमबार) साँझ चार बजेपछि समितिले छानबिन प्रतिवेदन तयार गरेर बुझाउने संयोजक धामीले दिनेशखबरलाई जनकारी गराए।

संसदीय समितिले छानबिन सक्किएको बताए पनि भट्टले बोलेको भनिएको भिडियो र अडियोको ल्याब परीक्षण भने गरिएको छैन। संयोजक धामीले समय अभावका कारण भट्टले बोलेको अडियो र भिडियोको ल्याब टेष्ट गर्न नसकिएको बताएका छन्। भट्टले बयानको क्रममै अडियो आफ्नो नभएको दाबी गरेका बेला सत्यतथ्य पत्ता लागउन अडियोको ल्याब परीक्षण गरिनुपर्ने भए पनि त्यसो नगरेरै छानबिन प्रतिवेदन तयार गरेर बुझाइने भएको छ।

छानबिन प्रक्रियालाई वस्तुनिष्ठ बनाउने आधार आवाजको ल्याव परीक्षण गरिनुपर्ने अनिवार्यतालाई किन बेवास्ता गरियो त्यसको कारण भने बुझ्न सकिएको छैन। समय अभाव भएको देखाएर छानबिन मार्फत सुनपानी छर्किने उपक्रम पो गरिएको हो कि भन्ने आशंका उब्जेको छ।

कमेन्ट लोड गर्नुस