सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ८४ ताल फेला, अतिक्रमण हटाएर संरक्षण गरिने

२०८० भदौ २३, ०५:२१ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका तालहरूको तथ्याङ्क सार्वजनिक गरेको हो। उपमहानगरमा ८४ ताल रहेको विवरण तयार पारिएको छ। धनगढीका प्राकृतिक तालहरूमा सामुदायिक वनभित्रका ताल संरक्षित छन् भने बजार क्षेत्रका अधिकांश ताल अतिक्रमणमा परेका छन्। तर, उपमहानगरले तालहरूको लगत तयार गरेर अतिक्रमण हटाउने र दीर्घकालीन रूपमा संरक्षण गर्ने योजना बनाइएको छ। 

उपमहानगरको १९ वडा मध्ये वडा नम्बर ४ बाहेक अन्य वडाहरूमा कम्तीमा एक र बढीमा १२ ताल रहेको विवरण तयार गरिएको  छ। धनगढीको वडा नम्बर १ को शिवनगरमा पाँच बिघा ७ कट्‍ठामा फैलिएको झागडा ताल छ। यो ताल पूरै अतिक्रमण गरिएको छ। वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ भने वडा नम्बर ३ मा गढैया ताल ९क०, गढैया ताल ९ख० र नेतुवा तालसहित तीन ताल रहेका छन्। वडा नम्बर ५ मा  दुई पोखरी रहेकोमा दुबैमा अतिक्रमण गरिएको छ। लब्लीचोक उत्तरमा रहेको ७५० वर्ग मिटर क्षेत्रफल  र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी नक्सामा मात्रै सीमित छन्। 

धनगढीमा रहेका तालहरूको संरक्षण गर्ने हिसाबले हरेक वडामा गएरै तालहरूको विवरण तयार गरिएको उपमहानगरका डिभिजन इन्जिनियर दिजराज भट्टले बताए। ‘उपमहानगरले सबै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालहरूको विवरण तयार गरेको हो,’ उनले भने, ‘तालहरूको खोजी गरेर तिनको संरक्षणको योजना बनाइने छ भने थप तालहरूको पनि खोजी गरिने छ।’

धनगढी उपमहानगरको वडा नम्बर ६ मा नठुनिया ताल, कुइलही ताल, सुलखैया ताल, नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल डबरा ताल र दिदीबहिनी तालसहित ९ वटा ताल रहेका छन्। यस्तै वडा नम्बर ७ मा सडुवा बाबा ताल, अन्टा ताल, मनिया ताल, लम्बा ताल, पोखरी, जाखौर ताल, सिरेगडैया ताल, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुत्ता तालसहित १० वटा ताल रहेको विवरण तयार गरिएको छ। यी वडाहरूमा रहेका सामुदायिक वन भित्रका बाहेक अन्य तालहरू भने अतिक्रमणको चपेटामा  परेका छन्। अतिक्रमण खाली गर्ने र तालहरूको संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने इन्जिनियर भट्टले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा बन्धवा र तौलाहा ताल छन्। बान्धवा ताल अतिक्रमण गरिएको छ भने तौलाहा तालको संरक्षण गरिएको छ।

यस्तै, उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेका चौफेरी र चन्द्रमुखी तालको पनि संरक्षण गरिएको छ। वडा नम्बर १० मा सबैभन्दा बढी १२ ताल छन्। यो वडामा रहेका  भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, भगहर ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल र मदेहर ताल पुरेर खेतीपाती गर्ने गरिएको छ। वडा नम्बर ११ मा  बेला ताल, दुदैया ताल, बेलादेवीपुर धाम ताल र पोखरी तालसहित पाँच वटा ताल रहेका छन्। वडा नम्बर १२ मा ऋसैना ताल छ भने वडा नम्बर १३ मा मतकन्ना ताल रहेको उपमहानगरले जनाएको छ। यी वडाका तालहरूको केहीको संरक्षण गरिएको छ भने केही आंशिक तथा केही पूर्ण अतिक्रमणमा परेको उपमहानगरले जनाएको छ।

धनगढीको वडा नम्बर १४ मा बक्तैहिया ताल, लामोहाल ताल, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको तालसहित ७ वटा ताल रहेको पाइएको छ। वडा नम्बर १५ मा भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल, करहिदबरा ताल रहेको पाइएको छ। वडा नम्बर १६ मा ८ वटा ताल रहेको फेला परेको छ। यो वडामा महादेवा ताल, सहदेव ताल, नौ ताल,  जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया ताल रहेको पाइएको छ। 

यसैगरी, वडा नम्बर १७ मा ४ वटा ताल रहेको फेला परेको छ।यो वडामा  पथरी पोखरी, कुसुम ताल, पोखरी, सरौटा पोखरी रहेकोमा वडा नम्बर १८ मा  नुकिल ताल, लाली गुँरास वन भित्रको ताल, तीन टुरपी ताल पतन्जलि ताल र श्रीकृष्ण ताल रहेको उपमहानगरले बताएको छ। यस्तै,उपमहानगरको वडा नम्बर १९ मा ६ ताल रहेका छन्। यो वडामा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, पुरैना ताल र छोरलहुवा ताल रहेको पाइएको छ। उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने  डिभिजनल इन्जिनियर भट्टले बताए। ‘धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएको छ। पानीको पुनर्भरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको छ,’ उनले भने, ‘उपमहानगरले यो वर्षबाट नै तालको संरक्षण गर्ने काम अगाडि बढाएको छ।’

धनगढी उपमहानगरले तालहरुको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने नीति लिएको छ। पानीको पुनर्भरण, प्राकृतिक सौन्दर्य, माछा पालन र पर्यटनका गतिविधि गर्न  नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गर्न र संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने उपमहानगरले बताएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस