सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२०८० भदौ २२, ०९:२४ खबर संवाददाता

काठमाडौँः  कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। एमालेको कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले प्रदेश प्रमुख खापुङबाट आजै पद तथा गोपनीयताको शपथ पनि लिए। सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा लिएको विश्वासको मतसहित उनको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार ४८ घन्टाभित्र प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो।

सोहीअनुसार प्रदेश प्रमुख खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। छोटो अवधिमै उनी दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। गत २४ पुस ०७९ मा उनी पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। तर, १५ असारमा विश्वासको मत आर्जन गर्न असफल भएपछि पदमुक्त भएका थिए।
 

कमेन्ट लोड गर्नुस