सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसानको धानबालीमा गबारो किराको प्रकोप 

२०८० भदौ २२, ०६:२६ नारायण अवस्थी

धनगढी : कैलालीमा धानबालीमा गबारो किराको प्रकोप देखिएको छ। जिल्लाको उत्तर-पूर्वी क्षेत्रमा धानबालीमा गबारोको प्रकोप देखिएको हो। यो वर्ष पानी कम परेकाले गबारोको प्रकोप बढेको हो। धानमा लागेको गबारोको नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहअनुसार उपाय अपनाउन आग्रह गरिएको छ। 

जिल्लाको महेन्द्र राजमार्गको उत्तर-पूर्वी क्षेत्र गोदावरी नगरपालिकादेखि लम्कीचुहा नगरपालिकासम्मको क्षेत्रमा एक हप्तादेखि धानबालीमा गबारो किराको प्रकोप देखिएको हो। एक किसिमको पुतलीको लार्भाले धानको गाँजमा आक्रमण गर्दा गबारो लाग्ने गर्छ। यो वर्ष पानी कम परेकाले पानी नजम्ने, बलौटे माटो रहेको खेतहरूमा गबारो किरा लागेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए।

"पूर्वपश्चिम राजमार्गको उत्तर-पूर्वी क्षेत्रमा यो वर्ष गबारो किराको प्रकोप देखापरेको छ। यो वर्ष पानी कम परेकाले पानी नजम्ने र अग्लो जग्गामा गबारो देखिएको हो," कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए।

गबारोको कारण किसानले यो वर्ष धान उत्पादन घट्ने चिन्ता गरेका छन्। अन्य वर्षको तुलनामा साउन र भदौमा यो वर्ष कम पानी परेकाले धानखेतीमा गबारो लागेको कृषि अधिकारीले बताएका छन्। अझै पनि पानी पर्‍यो भने धान उत्पादनमा कमि नआउने शर्माले बताए। "गबारोको देखिएको केही दिन मात्रै भएको छ। यो बीचमा पानी पर्‍यो भने यो फैलिन पाउँदैन। कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखा र किसानले नियन्त्रणको प्रयास थालेका छन्," उनले भने, "गबारो किराको लार्भाको प्रकोप तीन चार हप्ता मात्रै देखिन्छ। अहिले नै धान उत्पादन प्रभावित हुन्छ भन्न सकिन्न।"

गबारो धानमा लाग्ने एक प्रमुख शत्रु जीव किरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसको प्रकोप रहन्छ। पुतलीको लार्भा अवस्थाको गबारो किराको सङ्क्रमणले धानको बोट  मर्दै जान्छ। गबारोको प्रकोप देखिएको क्षेत्रका किसानले धानको गाँज डुब्ने गरी, कुलो, नहर र बोरिङबाट पानी लगाएर गबारो नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले बताए।

"किसानले कुलो, नहर या बोरिङबाट खेतमा पानी लगाएर गाँजसम्म डुबाउने र तीन चार दिनमा पानी बग्न दिने, फेरि एक दुई दिनपछि पानी लगायो भने गबारो किरा पानीको कारण मर्न पुग्छ र प्रकोप फैलिन पाउँदैन," उनले भने, "गबारो नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रले स्थानीय तहका कृषि शाखा र किसानसँग समन्वय गरेर काम गरिरहेको छ।"

पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको गरी ६ किसिमका गबारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञले बताएका छन्। धानको बिरुवा अर्थात् बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गबारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस