सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा बझाङको उरै नाका समावेश गर्न माग

२०८० भदौ २२, ०२:२० खबर संवाददाता

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी महिना हुने चीन भ्रमणको एजेन्डामा चीनसँग जोड्ने बझाङको उरै नाका सञ्चालनको विषयलाई समावेश गर्न माग गरिएको छ। उरै नाका सञ्चालनको विषयलाई भ्रमणको एजेन्डामा समावेशका लागि पहल गर्न सुदूरपश्चिमका व्यवसायीहरूले आग्रह गरेका हुन्।

उरै नाका सञ्चालनमा ल्याउन सके उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको आर्थिक समृद्धि हासिल गर्न सकिने उनीहरूको भनाइ छ। उरै नाकाले भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्ने भएकाले यसलाई त्रिदेशीय व्यापारिक मार्गको रूपमा विकास गर्न सकिने संभावना रहेको व्यवसायीहरूले औँल्याएका छन्।

कैलाली उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पुष्प कुँवर यो नाका सञ्चालन हुनसकेमा पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको मात्र नभइ राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुग्नसक्ने बताउँछन्। सुदूरपश्चिमको समग्र विकासका लागि चीनसँगका नाका खोल्नेसँगै भारतसँगका नाकाहरूको स्तरोन्नति आवश्यक रहेको उनले बताए। ‘उरै नाका खोल्नसके ‘कनेक्टीभिटी’ बढ्छ, व्यापारिक कारोबारमा सहज हुन्छ। यहाँको औद्योगिक विकासमा सहयोग पुग्छ’ अध्यक्ष कुँवरले भने, ‘नाका खुलाउनेतर्फ सरकारको ध्यान जानुपर्छ।’ उत्तर र दक्षिणतिरका नाकाहरू खोल्नसके सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उरै नाकाको विषय उठाउन आग्रह गरिएको उनले बताए।  

करिब एक हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएको ठानिएको यो नाका कोरोनायता प्रवेश निषेध गरिएको छ। बझाङको चैनपुरदेखि उरैसम्म जोड्ने सडक निर्माण हुन सकेको छैन। चैनपुरदेखि उरैसम्म एक सय १७ किलोमिटरमध्ये हालसम्म ४० किलोमिटरमा मात्र ट्रयाक खोल्ने काम पुरा भएको छ।

सरकारले कैलालीको टीकापुरदेखि बझाङमा चीनतर्फको ताक्लाकोट जोड्ने सडकलाई सेती लोकमार्गको रुपमा अगाडि बढाएको छ। तर डेढ दशकसम्म ट्रयाक खोल्ने कामसमेत पूरा भएको छैन। त्रिदेशीय व्यापारिक मार्गको रूपमा विकास गर्न सकिने संभावना भए पनि सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो यहाँका स्थानीयको छ।

उरै नाका खोल्नसके व्यापारिकमात्र नभइ पर्यटन विकासमा पनि ठूलो टेवा पुग्ने पर्यटन व्यवसायी मायाप्रकाश भट्ट बताउँछन् । सेती लोकमार्ग बनेर उरै नाका सञ्चालनमा आउनसके मानसरोवर जाने ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई यो बाटोबाट भिर्त्याउन सकिने उनको भनाइ छ। ‘मानसरोवर जान हिल्साभन्दा उरै छोटो पर्छ। यो नाका खोल्नसके मानसरोवर जाने बर्सेनि हजारौँ भारतीय पर्यटकलाई भिर्त्याउन सकिन्छ’ भट्टले भने, ‘यसले सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ।’

उरै नाका खोल्न सरकारले चीनसँग कुरा गर्नुपर्ने माग आफूहरूले विगतदेखि गर्दै आएको उनले बताए। विकासका लागि ‘कनेक्टीभिटी’ महत्वपूर्ण हुने उनले बताए। ‘चीन सरकारसँग कुरा गरेर उरै नाका खोल्नुपर्छ। त्यहाँ अध्यागमन राख्नुपर्छ। सेती लोकमार्गलाई जतिसक्दो चाँडो बनाउनु पर्यो’ भट्टले भने, ‘निजि क्षेत्रले यी विषय पटकपटक उठाएको छ तर सरकारले सुन्दैन।’

उरै नाकाको विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा राख्नका लागि आवश्यक पहल गर्न आग्रह गर्दै व्यवसायी तथा व्यवसायी संघसंस्थाहरुले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। उद्योग वाणिज्य महासङ्घ प्रदेश समिति, जिल्ला समिति, नाटा सुदूरपश्चिमलगायत व्यवसायीक संघसंस्था तथा व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका हुन्।

पर्यटन व्यवसायीहरुको संस्था नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले उरै नाका खोल्नसके सुदूरपश्चिमको पर्यटन विकासले छलाङ मार्ने बताए। उरै नाका खुले चीनको मानसरोवर जाने हजारौँ भारतीय पर्यटकलाई सुदूरपश्चिम भिर्त्याउन सकिने उनको भनाइ छ। ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उरै नाकालाई एजेन्डामा राख्न प्रदेश सरकार आफैले पनि पहल गर्नुपर्ने हो’ अध्यक्ष सिंहले भने, ‘हामीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह गरेका छौँ।’

       

कमेन्ट लोड गर्नुस