सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभाको एकसहित सुदूरपश्चिममा पाँच जनप्रतिनिधिको पद रिक्त 

२०८० भदौ २२, १२:१२ खबर संवाददाता

धनगढीः प्रदेश सभा सदस्यको एकसहित सुदूरपश्चिममा पाँच जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त भएका हुन्।

बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो। सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका सिंहको दुर्घटनामा परी गत असार ५ गते निधन भएपछि उक्त पद खाली भएको छ। उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको थियो। उक्त पदसमेत रिक्त रहेको छ। उनी पनि नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको २०७९ पुस २३ मा निधन भएको थिए।

डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि निधनभएकाले पद रिक्त छ। गत वर्ष मंसिरमा जोशीको निधन भएको थियो। उनी पनि काँग्रेसबाट निर्वाचित भएका थिए।

गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट विजयी भएका थिए। उता दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

गत मंसिरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन सरकारले गत वैशाखमै गरेको थियो। भने, प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारी सरकारले गरेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले पद रिक्त रहेका निर्वाचन क्षेत्रका बारेमा सरकारलाई जानकारी गराइएको बताए। उनले संविधान अनुसार चाँडै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस