सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको स्याउ अब असोजभित्रै धनगढीमा, तीन ग्रेडमा मुल्य निर्धारण

२०८० भदौ २१, ०१:३३ कमल सावद

धनगढीः बाजुरामा उत्पादित स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको छन्। जिल्लाको स्वामिकात्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपलिकाको स्याउ एक साथ तीनवटा सहरसम्म ढुवानी गरिने भएको हो।

कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीयहरुले स्याउ ढ्ुवानीमा ५०/५० प्रतिशत अनुदान दिने भएका छन्। जिआइजेटले स्याउका लागि आवश्यक पेटी सहयोग गर्ने भएको छ। जिल्लाको स्वामिकात्तिक गाउँपालिकाबाट तीन हजार पाँच सय पेटी र बुढीनन्दा नगरपालिकाबाट एक हजार पाँच सय पेटी स्याउ ढुवानीका लागि अनुदान दिइने भएको छ। ‘किसान आत्तिनु भएको छ। तर, स्याउ तयार भएका छैनन्। असोजमा ढुवानी गर्दा ठिकै हुने देखिएको छ,’ ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टले भने।

बजार नपाएर बारीमै कुहिने स्वामिकार्तिक खापर गाउँपालिकामा फलेको ५२ हजार पाँच किलोग्राम स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको हो। बुढीनन्दा नगरपालिकाबाट २२ हजार पाँच सय किलोग्राम स्याउ सहरहरुमा बिक्रीका लागि ढुवानी गरिने भएको छ। भरिया, खच्चर र ट्रक हुँदै बाजुराको स्याउ बजारसम्म आउनेछ। बाजुराको स्याउ किसानले बारीमा ४० रुपैयाँ प्रतिकिलोग्राम मूल्य पाउने छन्। कृषि ज्ञान केन्द्र, गाउँपालिका र किसानको संयुक्त छलफलले ‘ए’ ग्रेडको र ‘बी’ ग्रेडको ४० तथा ‘सी’ ग्रेड स्याउको मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ।

भदौको अन्तिम साताबाट स्याउ टिप्ने र कार्टुनमा राख्न सुरु गरिनेछ। असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढीसम्म बाजुराको स्याउ पुग्नेछ। यसरी किसानका बारीबाट किनेको स्याउ बजारसम्म पु¥याउन लाग्ने ढुवानी खर्च कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले व्यहोर्ने छन्। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टका अनुसार स्वामिकात्तिक खापर गाउँपालिभित्रका किसानले उत्पादन गरेको स्याउ तिलिचोकामा जम्मा गरिने छ। तिलिचौकमा जम्मा भएको स्याउ ट्रकमार्फत कर्णालीको सडक हुँदै धनगढीसम्म ल्याइने छ। बाजुरा–मार्तडी सडक हुँदै स्याउ ढुवानी गर्न नसकिने भट्टले बताए।

बाजुरामा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५० हेक्टरमा स्याउ खेती गरिएको थियो। एक सय ७० हेक्टरमा मात्र लगाएको स्याउ फलेको थियो। एक सय ८० हेक्टरमा लगाएको स्याउले फल दिन सुरु गरेन्। जिल्लामा सो आर्थिक वर्षमा एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याँक छ। जिल्लामा आर्थिक वर्ष २०८९/८० मा तीन सय ७० हेक्टरमा स्याउ खेती गरिएको थियो। एक सय ७५ हेक्टरमा लगाएको स्याउ मात्र फलेको थियो भने एक सय ९५ हेक्टरमा लगाइएको स्याउले फल दिन सुरु गरेको छैन। गत आर्थिक वर्षमा एक हजार एक सय ३७ मेट्रिकटन स्याउ जिल्लामा उत्पादन भएको थियो।

स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा व्यवसायिक स्याउ खेती हुने गरेको छ। गौमुल र हिमाली गाउँपालिकामा समेत व्यवसायीक रुपमा स्याउ खेती विस्तार गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस