सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायतर्फ महिलाको आकर्षण बढ्दो

। फोटो स्रोत ।
२०७६ वैशाख ११, ०५:०४

रौतहटमा कृषि तथा उद्योग व्यवसाय गर्नेतर्फ महिलाहरूको आकर्षण बढेको छ। सरकारले व्यवसाय गर्नका लागि अनुदान तथा बैंकले सहजै ऋण उपलब्ध गराएसँगै  महिला व्यवसायीको आकर्षण बढेको हो। ‘पहिला पहिला घरधन्दाको काममा मात्रै समय बिताउने गर्थें तर अहिले भने आफ्नै व्यवसाय गर्न सुरू गरेपछि पारिवारिक र व्यापारिक दुवै काम सम्हाल्न सक्ने भएकी छु’, दुर्गा भगवती गाउँपालिका वडा नम्बर दुईकी व्यवसायी सुप्रिया झाले भनिन,‘घरमा साना–साना छोराछोरीहरु छन् उनीहरुको स्याहार सुसार गर्नैपर्ने हुन्छ त्यसैले बाहिर गएर काम गर्ने कुरै आउँदैन, अहिले व्यवसाय गरिरहेकोले न त दबाब हुन्छ न त बाहिरै जानुपर्ने झन्झट।’

जिल्लामा पहिलेको तुलनामा अहिले एकदमै धेरै उद्योगी व्यवसायी बढेको घरेलु तथा साना उद्योग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले बताए। कृषिमा आधारित व्यवसायहरू जस्तैस् बाख्रापालन, माछापालन, भैंसीपालन लगायतका कृषिजन्य व्यापारका लागि सरकारले अनुदान दिने गरेकाले र बैंकले समेत व्यवसाय गर्नका लागि सहजै ऋण उपलब्ध गराइ रहेकाले जिल्लामा उद्योग व्यवसाय गर्ने महिला र पुरुष बढ्दै गएका छन् प्रमुख झाले भने। प्रमुख झाका अनुसार उद्योग व्यवसायमा पुरुषको तुलनामा महिलाहरु बढी सक्रिय हुँदै गएका छन्।

प्रमुख झा भन्छन, ‘पहिलेको तुलनामा उद्योगी व्यवसायीहरूमा चेतनाको समेत विकास भएको छ, उनीहरू आफैं पनि चनाखो भएर यहाँ आउँछन् र व्यापार व्यवसायबाट हुने फाइदाबारे राम्ररी बुझ्छन् र व्यापार गर्न सुरू गर्छन्।’ पछिल्लो समयमा बिनादर्ता व्यापार व्यवसाय गर्नेको संख्यामा समेत कमी आएको प्रमुख झाले जानकारी दिए। उनका अनुसार उद्यमी बन्नका लागि सरकारले प्रत्येक जिल्लामा उद्यमशीलताको तालिम समेत सञ्चालन गर्दै आएको छ।

जसअन्तर्गत पहिलो चरणमा जनतालाई उद्योग व्यवसायमा लाग्न आकर्षित गर्ने, व्यापार व्यवसायलाई अगाडि बढाउन योजना बनाउन सिकाउने लगायतका रहेका छन्। रौतहटमा वाणिज्यतर्फ लगभग ५ हजार निजी फर्महरू दर्ता रहेका छन्। त्यसैगरी उत्पादनतर्फ लगभग ३ हजार उद्योग दर्ता रहेको प्रमुख झाले जानकारी दिए। साभार - सेतोपाटी  
 

कमेन्ट लोड गर्नुस