सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका उद्योग बन्द हुने अवस्थामा, कच्चा पदार्थको चौतर्फी अभाव

२०८० भदौ २०, ०९:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। प्लान्ट क्वारेन्टिन बन्द भएपछि कच्चा पदार्थ ल्याउन नपाउँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका पुगेका हुन्। भारतीय कच्चा पदार्थमा निर्भर यहाँका दाना उद्योग, खाद्यान्न उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। साउन २८ देखि कुनै पनि कृषि उत्पादन आयात गर्न नपाइएको संघले बताएको छ।

धनगढीमा दाना उद्योग र खाद्यान्न उद्योगले भारतबाट कच्चा पदार्थ ल्याएर तयारी उत्पादन बजारमा पठाउने गरेका छन्। संघका अध्यक्ष पुष्पराज कुँवरले प्रदेशमै ठूला उद्योग नभएको बेला केही दाना उद्योग र खाद्यान्न उद्योगहरू पनि प्लान्ट क्वारेन्टिन बन्द गरिदिएपछि उद्योग बन्द गर्नुपरेको बताए।

संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन नै गरेर अध्यक्ष कुँवरले नाकामा रहेको प्लान्ट क्वारेन्टिनको स्तरोन्नति गर्नुपर्ने बेला बन्द गराइँदा प्रदेशकै अर्थतन्त्र धराशायी हुने र उद्योगीले लगानी गर्न अर्को प्रदेशमा पलायन हुनुपर्ने अवस्था आउने बताएका हुन्।
संघीय सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टि नै गलत भएकाले प्रदेशको अर्थतन्त्र उदाउन नसकेको यहाँका व्यवसायीको गुनासो छ।

गड्डा चौकी नाकाबाट कमजोर पुलका कारण मालबहाक सवारी आउने अवस्था छैन्। त्यहाँ प्लान्ट क्वारेन्टिन कार्यालय राखेको छ। धनगढीका उद्योगी विवेक भट्टले धनगढीका दाना उद्योगहरूले प्रदेशमा रहेको दाना मार्केटको ४० प्रतिशत कभर गरिसकेको बताए। उनले यो अवस्थामा यहाँको दाना उद्योगहरूलाई चलाएमा पुनः ठूला उद्योगले यहाँको शतप्रतिशत मार्केट लिने र यहाँको उद्योग फस्टाउन नसक्ने अवस्थामा पुग्ने बताए।

उनले त्रिनगर भन्सार नाकाबाट कच्चा पदार्थ आयात गर्न नपाउने अवस्थामा नेपालगन्जबाट ल्याउनुपर्ने र त्यसबाट मूल्यवृद्धि भई सुदूरपश्चिम प्रदेशका उद्योगले अन्य प्रदेशका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आउने बताए। उनले सरकारले वर्षौंदेखि सञ्चालन गरी प्रदेशमै सबैभन्दा बढी राजस्व संकलन गर्ने नाकालाई अवैध भनेकोमा आपत्ति जनाए।

यहाँको उद्योग व्यवसाय सञ्चालनका लागि तत्काल क्वारेन्टिन टुरमुकाम कार्यालय पूर्ववत् रूपमा सञ्चालन गर्न र स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न सरकारसँग माग गरे। त्यसै पनि कैलालीमा पछिल्ला दुई वर्षयता घरेलु तथा साना उद्योग दर्ता क्रम घटेसँगै दर्ता खारेजी हुने शिलशिला समेत बढेको छ।

कमेन्ट लोड गर्नुस