सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको भवन ६ वर्षदेखि अधुरै, जरिवाना भराउँदा पनि निर्माण अलपत्र

२०८० भदौ १८, ०६:४८ नारायण अवस्थी

धनगढीः तपाई सेती अस्पताल जानु भएको छ? जानु भएको छ भने अस्पताल परिसरमा निर्माणाधिन भवन देख्नु भएको छ होला। यो भवन बनाउन २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको हो। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सेती प्रादेशिक अस्पतालमा नयाँ भवन निर्माण गर्न रविना/थेगिम जेभीसँग ठेक्का सम्झौता गरेको हो।

निर्माण कम्पनीले ३० महिना अर्थात २०७७ बैशाख २७ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, ६ वर्ष पूरा हुनै लाग्दा पनि भवन निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छैन। अस्पताल भवन लामो समयसम्म नबन्दा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।

‘सेती अस्पतालमा भवनको अभावले सेवा विस्तारमा मात्रै होइन भएकै सेवा प्रभावकारी बनाउन समस्या भएको छ। बन्न लागेको भवन ६ वर्ष हुन लाग्यो पूरा भएको छैन। हामी निकै समस्यामा परेका छौ,’ अध्यक्ष शाहले भने। अस्पतालमा भवन अभावका कारण ओपिडी सेवा निर्माणाधिन भवनबाटै दिन थालिएको छ। पुरानो अस्पतालको आकस्मिक कक्ष सानो हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको छ।

यस्तै, अस्पतालको सेवा प्रभावकारी बनाउने योजना कार्यान्वयन गर्न अधुरो भवन बाधक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले बताए। ‘पुरानो भवनमा आकस्मिक कक्ष निकै सानो छ। त्यहाँ १८ शय्या मात्रै राख्न सकिने अवस्था छ। पुरानो ओपिडी भवन भत्काउनु परेको छ। अहिले ओपिडी चलाउन पनि समस्या छ,’ शाहले भने, ‘नयाँ भवनको काम सकिए जनशक्ति व्यवस्थापन गरेर उपचार सेवा प्रभावकारी बनाउन हुन्थ्यो तर कहिले भवन बन्छ? त्यो नै टुङ्गो छैन।’

काम नसक्दा पटक–पटक म्याद थप गर्दै आएको भए पनि अन्तिम पटकका लागि थपिएको म्याद असार १० गते सकिएको हो। असार ११ गतेबाट हेरक दिन निर्माण कम्पनीलाई जिरवाना लाग्दै आएको छ। जरिवाना लागेर थपिएको अन्तिम ६ महिनाको दुई महिनामा पनि भवन निर्माणमा थप प्रगति हुन सकेको छैन।

बाँकी रहेको अन्तिम चाचर महिनाभित्र सम्पूर्ण काम नसके कम्पनीलाई हदैसम्मको कारबाही हुने र फेरि म्याद थप हुने कुनै सम्भावना नभए पनि काम भने अगाडि नबढेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनीयर प्रभात कलौनीले बताए। ‘निर्माण कम्पनीलाई दिएको समय गत असार १० मै समाप्त भएको हो।

अहिले असार ११ गतेबाट दैनिक जरिवाना लाग्ने गरी ६ महिना म्याद थप भएको हो। तर, काम भने अहिले पनि जसरी हुनुपर्ने हो त्यसरी भएको छैन।’ निर्माण कम्पनीले अस्पताल भवन निर्माण गर्न १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरेको थियो। २०७७ बैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन। तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस