सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको प्लान्ट क्वारेन्टाइन बन्द भएपछि उद्योगी–व्यवसायी चिन्तित

२०८० भदौ १७, ०६:३५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन बन्द भएपछि उद्योगी व्यवसायी चिन्तित बनेका छन्। क्यारेन्टिन बन्द हुँदा खाद्य र पशुपन्छी दाना उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीले सञ्चालनको माग गरेका हुन्। तीन हप्तादेखि क्वारेन्टिन बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात ठप्प छ। प्लान्ट क्वारेन्टिनमा कर्मचारी पठाउन प्रदेश र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ।

प्लान्ट क्वारेन्टिन बन्द गरेर कैलालीका उद्योगी व्यवसायीलाई धरासायी बनाउने काम भएको व्यवसायीको गुनासो छ। कैलाली भन्सारबाट आयात र निर्यात गर्दा बेहर्नुपर्ने झन्झटका कारण जिल्लाबाट कतिपय ठुला उद्योग नेपालगन्ज स्थानान्तरण भएका छन्। प्लान्ट क्वारेन्टिन कार्यालय बन्द गरेर कैलालीबाट उद्योग विस्थापित गर्ने रणनीति तय भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले आशंका गरेका छन्।

‘कैलाली भन्सार भएर भारतबाट जति पनि गाडी आउँथे ती सबैलाई प्रभावित पारेर यहाँका उद्योग विस्थापित गर्ने खेल सुरु भएको छ जस्तो लागेको छ।’ क्वारिन्टिन कार्यालय बन्द गर्नु भनेको उद्योग बन्द गर भने सरह हो, महासचिव विष्टले भने। एक जना प्राविधिक कर्मचारी भए प्लान्ट क्वारेन्टिनले आयात–निर्यातको लागि गर्ने खाद्यान्न परीक्षण गरेर प्रमाणपत्र दिन सक्ने भए पनि संघीय सरकारको कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी परीक्षण केन्द्र काठमाडौले कैलाली भन्सारमा अवैध किसिमले कार्यालय राख्न नसकिने जिकिर गर्दै आएको छ।

आयात–निर्यात ठप्प हुँदा जनजीवन नै प्रभावित हुने जोखिम भए पनि कर्मचारी पठाउन सरकारी पक्षले कुनै चासो दिएको छैन। राज्यलाई कर तिर्छौ कार्यालय सञ्चालन गर भन्दा पनि कुनै सुनुवाइ नभएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गुनासो गरे। ‘हामीले कर तिर्छौ कार्यालय सञ्चालनमा आउनु पर्यो भनेर सबैतिर हारगुहार गरिसकेका छौँ।’ तर, ‘अहिलेसम्म हुन्छ मात्रै भन्छन् तर एक जना कर्मचारी पठाउने काम भएको छैन।

कर तिर्छौ भन्दा पनि कार्यालय खोल्ने लक्षण देखिएको छैन।’ कैलाली भन्सार हुँदै दैनिक ३० देखि ४० ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेको छ। भन्सारबाट दैनिक १० लाख राजस्व संकलन हुने गरे पनि प्लान्ट क्वारेन्टिनमा कर्मचारी नहुँदा खाद्यान्न, फलफूल र तरकारी आयात सधैंका लागि बन्द हुने भएको हो। कैलाली भन्सार नै गैरकानूनी भएकाले प्लान्ट क्वारेन्टिन कार्यालय राख्न नमिल्ने प्लान्ट क्वारेन्टिन तथा विषादी परीक्षण केन्द्र काठमाडौकी महाप्रवन्धक सावित्री बरालले बताइन्।

‘कार्यालय खुल्न पहिला नाका खुल्नु पर्यो नि हजुर, नाकामा प्लान्ट क्वारेन्टिन अवैध किसिमले चलाउन सकिन्न। सरकारले निर्णय गरेर कार्यालय सञ्चालन गर्ने भनेपछि कर्मचारी त पठाउने काम भइहाल्छ नि।’ त्रिनगर नाकाबाट हुने खाद्यान्न, तरकारी र फलफूल आयात रोकिँदा व्यवसायीहरूले नेपालगंज नाकाबाट सामान आयात गर्न थालेका छन्। नेपालगन्जबाट आयात गर्दा सामानको मूल्य बढ्ने र उपभोक्तालाई मर्का पर्ने व्यवसायीहरुको तर्क छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस