सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब हेलो सरकार २४ घण्टै सञ्चालन हुने 

२०८० भदौ १७, ०४:३५ खबर संवाददाता

काठमाडौंः  सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टै सञ्चालन हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबामा सो कार्यक्रममा सहभागी हुँदै हेलो सरकार २४ घण्टै सञ्चालन गर्ने कार्यक्रमको सुरुवात गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका छन्।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो गर्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापन गरिएको छ। साथै हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन्।
 

कमेन्ट लोड गर्नुस