घोडाघोडीमा पाइने चराको बारेमा पुस्तक प्रकाशन

धनगढीः नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन गरिएको छ। लामो समय घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराहरूको अध्ययन अनुसन्धान गरेका तीन जना चरा संरक्षणकर्मीले पुस्तक प्रकाशन गरेका हुन्।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा “घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू” नामक पुस्तक प्रकाशन गरेर घोडाघोडीमा पाइने चराहरूको जानकारी पुस्तकमार्फत दिएका छन्। सन् २००३ विश्व रामसार साइडमा सूचीकृत भई विश्व सिमसार क्षेत्रका रूपमा परिचित घोडाघोडी तालमा हरेक वर्ष दुई पटक चरा गणना हुँदै आएको छ। जङ्गली धान, हरिहाँस र मगरगोही सूचक प्रजातिको रूपमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म पाइएका ३९० प्रजातिका चराहरूको बारेमा पुस्तकमा उल्लेख गरिएको पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए।
विश्वमा लोप हुँदैगएका चरा घोडाघोडीमा पाइने गरेका छन्। केही वर्ष यता जनसङ्ख्या वृद्धिसँगै मानवीय गतिविधिका कारण पर्यावरणमा महत्वपूर्ण मानिएका चराहरू सङ्कटमा पर्न थालेसँगै संरक्षणका लागि सरकारले समेत चासो दिन थालेको छ। २०७८ मा प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरी योजना बनाएर काम गर्न थालेको छ। १५ औ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले पुस्तक विमोचन गरेका थिए। पुस्तकले चराहरूका बारेमा जान्न र घोडाघोडीलाई बुझ्न सहज हुने नगर प्रमुख रावतले बताए।
डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्क्षी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन भएको हो। –गोरखापत्र

