एसिया कप क्रिकेटमा भारतद्धारा पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य
एजेन्सीः एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय ६६ रन बनायो।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए। पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहलीको विकेट लिएका हुन्। त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए। उनले शुभमन गिललाई १० रनमा आउट गरे। सुरुवातमा प्रमुख चार खेलाडी आउट भएपछि केहि दबाबमा परेको भारतका लागि ईसान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले।
पाण्ड्याले ९० बलमा ८७ रन र ईसान किसन ८१ बलमा ८२ रनमा आउट भए। रविन्द्र जडेजाले १४ रन बनाए। शार्दुल ठाकुर ३ रनमा आउट भए। पानी परेका कारण खेल दुई पटकसम्म केही बेरका लागि प्रभावित भएको थियो। भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन्।
एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो। भारतको यो पहिलो खेल हो। नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ। भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ। अब पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।