सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले सूर्यको अनुसन्धानका लागि आज त्यसतर्फ अन्तरिक्ष यान पठाउँदै 

२०८० भदौ १६, ०८:३४ खबर संवाददाता

भारतले सूर्यको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने भएको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष यान पठाउने भएको हो।

आदित्य एल–वान नाम दिइएको सो अन्तरिक्ष यान स्थानीय समय अनुसार आज बिहान ११ बजेर ५० मिनेटमा प्रक्षेपण गरिनेछ। भारतको चेन्नाईबाट १ सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपण केन्द्रबाट यानलाई अन्तरिक्षमा पठाइनेछ।

भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ‘लन्च प्याड’ मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेको रकेट पूर्ण रूपमा तयार अवस्थामा रहेको देखिएको छ। भारतको योजना अन्तरिक्षमा आधारित एउटा वेधशाला त्यता प्रक्षेपण गर्नु रहेको छ जसले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्।

त्यस्तो प्रकारको भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ। सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्ष अभियान भने होइन। नासा र युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। पृथ्वीबाट सूर्यको दूरी १५ लाख किलोमिटर टाढा रहेको छ। आदित्य एल–वानलाई सूर्य सम्म पुग्नका लागि झण्डै ४ महिनाको समय लाग्नेछ।
 

कमेन्ट लोड गर्नुस