सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया–धनगढी ३३ केभी विद्युत लाइन विस्तारमा अवरोध

२०८० भदौ १४, ०६:२५ कमल सावद

धनगढीः कैलालीको अत्तरियादेखि धनगढीसम्म नयाँ ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको काममा अवरोध आएको छ। नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाले ४ करोड ६१ लाख ९३ हजार लागतमा ३३ केभी लाइन विस्तारका लागि ठेक्का सम्झौता गरेका थियो। विद्युत लाइन विस्तारको काम अन्तिम चरणमा रहेका बेला अवरोध आएको छ। नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलका अनुसार धनगढीको नेश्नल चोकमा लाइन विस्तारमा विवाद देखिएको छ। उक्त क्षेत्रका नागरिकले नयाँ लाइन विस्तारमा अवरोध गरेका हुन्। 

विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएका बेला स्थानीय व्यापारीले नै लाइन विस्तारमा अवरोध गरेका हुन्।  नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी बिच ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको थियो। तर, निर्माण कम्पनीले सम्झौताको समय भित्र काम सकेन। लाइन विस्तारको अन्तिम चरणमा रहेका बेला अवरोध आएपछि समस्या भएको छ। 

प्राधिकरणले गर्मी समयभन्दा अगाडि नै विद्युत लाइन विस्तारको काम सक्ने लक्ष्य लिएको थियो। तर, गर्मीको समय सकिनै लाग्दा पनि काम सकिएको छैन। विद्युत लाइन विस्तारमा अवरोध नआए एक हप्ता भित्र नयाँ ३३ केभीमा विद्युत प्रवाह हुने मण्डलले बताए। अत्तरिया–धनगढी ३३ केभी विद्युत लाइन पुरानो तथा कम क्षमताको भएकाले तार चुँडिने समस्या छ। नयाँ ३३ केभीको लाइन विस्तारको काम पूरा भए विद्युतको तार चुँडिने समस्या हल हुने प्राधिकरणले बताएको छ। 

अत्तरिया–धनगढी नयाँ ३३ केभी प्रसारण लाइनको काम फागुन–चैतभित्र पूरा हुने प्राधिकरणको दाबी थियो। भदौ आधा जाँदा पनि काम सकिएको छैन। सडक किनारबाट टेलिस्कोपी पोलहरुमा तार विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरणकोा धनगढी वितरण केन्द्र नजिक स्थानीयले अवरोध गरेका हुन भने, अन्य दुई वटा पोलसमेत गाड्नुपर्ने छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वबाट ३३ केभीको नयाँ विद्युत लाइन विस्तार गरेसँगै धनगढीको विद्युत समस्या समाधान हुने तर्क प्राविधिकको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस