धनगढीमा फाप्ला क्रिकेट मैदान निर्माण गर्न डिपीआर बन्दै
धनगढीः कैलालीको धनगढीमा फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बन्दैछ। फप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिले डिपीआर निर्माणको काम थालेको हो।
धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि संघीय सरकारले गत वर्षको बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएसँगै निर्माणको प्रक्रिया सुरु भएको थियो। तर, समिति गठनको १५ महिनासम्म डिपीआरको काम पूरा गरेको छैन।
विकास समिति आदेशमा रंगशाला तथा खेलग्राम निर्माणमा मुख्य कार्यकारी भूमिका रहने ९ सदस्यीय समिति हुने व्यवस्था गरिएको थियो। जसको अध्यक्ष रहेका सुवास शाहीले स्तरीय क्रिकेट मैदान निर्माण गर्न डिपीआर पनि राम्रो निर्माण गर्नुपर्ने बताए। उनले भने, ‘फप्लामा क्रिकेट मैदान निर्माणको प्रक्रियामा छौ। हामी डिपीआरको काम गर्दै छौ। इआइएको कामसमेत संगै हुन्छ। डिपीआर निर्माण पछि मात्र लगानी र ठेक्का सम्झौताको काम हुने हो।’ शाही फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका परिकल्पनाकार समेत हुन।
गठन आदेश अनुसार पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने छ। पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ। समिति गठनको एक वर्ष बढी भएको छ। तर, डिपीआरको काम समेत पूरा नभएकाले समितिले समयमा नै काम सक्नेमा आशंका भने बढेको छ।
समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्नेछ। शाहीले दिनेशखबरसँग भने, ‘कर्मचारी र डिपीआरका लागि सरकारले बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा ७५ लाख छ। डिपीआरका लागि समय लाग्ने देखियो। राम्रो डिपीआर बनेपछि मात्र आयोजना राम्रो हुने हो। जग्गा पाएका छौ। समिति बनेको छ। कर्मचारी आएका छन। डिपीआर हुँदैछ। धेरै काम भएका छन। प्रगति राम्रो छ। सबै तयारी भएपछि मात्र ठेक्कामा जाने हो। निर्माणको प्रक्रिया सुरुहुने हो।’
धनगढीको फाप्लाको साढे ३८ विघामा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न दिएको छ। फाप्लाको पहिचानदेखि जग्गा प्राप्तिसम्म शाहीको भूमिका छ। उनै शाहीलाई सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित विभिन्न खेलका पूर्वाधारहरु निर्माणको जिम्मेवारी दिएको थियो। शाहीले सन २०१५ सालदेखि फाप्लामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान थालेका थिए। धनगढी प्रिमियर लिग(डीपीएल)को आयोजना शाहीले फाप्लामै गराएका थिए। नेपालकै ठुलो क्रिकेट प्रतियोगिता फाप्लामा भएपछि यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख समितिको पदेन सदस्य छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष तथा नेपाल सरकारले मनोनयन गरेकी महिला सदस्यमा स्थानीय कल्पना दिवाकोटी समितिको सदस्य छन्।