सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको विजयी सुरुआत 

२०८० भदौ १४, १२:०१ खबर संवाददाता

काठमाडौं: मलेसियामा आजबाट सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ। मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो। 

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो। मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाईन्। 

नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २÷२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १÷१ विकेट लिईन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। 

नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन्। अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाकी एना हमिजाले २ विकेट लिईन्। 

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। 

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

दोसो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ। 

कमेन्ट लोड गर्नुस