सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्री–गार्डसहित झण्डै ६ हजारको संख्यामा वृक्षारोपण

२०८० भदौ १४, १०:०४ कमल सावद

धनगढीः कैलालीको धनगढीमा ६ महिनाको अवधिमा ट्री–गार्डसहित झण्डै ६ हजारको संख्यामा वृक्षारोपण गरिएको छ। उपमहानगरपालिकाको सक्रियतामा सो अवधिसम्म पाँच हजार ६ सय ४२ बिरुवा रोपिएका हुन्।

धनगढी क्षेत्रको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी क्षेत्र, हुलाकी राजमार्ग र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहितका पाँच हजार ६ सय ४२ बिरुवा रोपिएका छन्। उपमहानगरपालिकाले आफ्नै जनशक्तिबाट ६ लेन सडकको मध्यभागको झाडी समेत सफाइ गर्दै आएको छ।

हरियाली प्रवद्र्धन लागि अभियान नै सञ्चालन गरेको उपमहानगरपालिकाले ३८ लाख रुपैयाँ संकलन गरेर धनगढीलाई हरियालीसहितको सहरको रुपमा विकास गर्न अग्रसर भएको हो। मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तार जालीसहित तीन हजार एक सय ३५ बिरुवा रोपियो।

फेरि ६ लेन सडकको दुबै तिर ट्री–गार्डसहितका दुई हजार ३९ बिरुवा रोपिएका छन्। मोहनापुल –अत्तरिया ६ लेन सडकको बिचमा फागुन–चैत तिर रोपिएका बिरुवा ठुला भएका छन्। उपमहानगरपालिकाले बिरुवा रोपेको क्षेत्रको झारी सफा गर्दै आएको छ। वर्षा नभएको समयमा बिरुवा सिँचाइको कामसमेत गरिएको थियो।

मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनीसहितका संघ÷संस्थालेसमेत वृक्षारोपण गरेका थिए। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोपेको हो। नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको धनगढी उपमहानगरपालिकाले ६ महिनामा पाँच हजार ६ सय ४२ बिरुवा रोपेको छ।

मोहनापुल अत्तरिया ६ लेन सडकसँगै वनदेवी सडकमा उपमहानगरपालिकाले ६६ वटा बिरुवा रोपेको छ। निर्माणको चरणमा रहेको हुलाकी राजमार्गमा मात्र तीन सय ७२ वटा बिरुवा रोपिएका छन्। हुलाकी राजमार्गको क्याम्पस चोकदेखि मनहेरासम्म ट्री–गार्डसहितका तीन सय ७२ वटा बिरुवा रोपिएका हुन्।

धनगढी उपमहानगरपालिकाले आर्यघाटमा समेत वृक्षारोपण गरेको छ। मोहना आर्यघाट क्षेत्रमा उपमहानगरपालिकाले ३० वटा बिरुवा रोपेको हो। धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्धन तथा धनगढीलाई पर्यावरण मैत्री बनाउने अभियान नै सञ्चालन गरेको छ।

उपमहानगरपालिकाले स्थापना गरेको हरित प्रवर्धन कोषमा अहिलेसम्म ३८ लाख बढी रकम जम्मा भएको छ। वृक्षारोपण कार्यक्तमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ। एक ट्री–गार्डमा नाम राखेको उपमहानगरपालिकाले पाँच हजार रुपैया लिने गरेको छ।

सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई जोडेको हो। बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाहा उपमहानगरपालिकाले गर्दै आएको छ। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा नागरिक तथा विभिन्न संघ÷संस्थाको सहभागिता जुटेको हो।

हरित तथा प्रकृति प्रेमीहरुले देश तथा विदेशबाट रकम पठाएका छन्। स्वर्गीय आफ्न्तहरुको नाममा बिरुवा रोप्नेहरुको संख्या समेत धेरै छ। धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवर्धन कोष’ स्थापना गरेको हो। यसका लागि धनगढी उपमहानगरापलिकाले बैंक खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस