सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका विद्यालय भोलिबाट खुल्ने

२०८० भदौ १२, ०९:२६ खबर संवाददाता

धनगढीः कञ्चनपुरका विद्यालय भोलिबाट खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। 

भदौ ३ गते जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० को शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनालाई लिएर गरिएको शिक्षण संस्था बन्दको आन्दोलन फिर्ता लिइएको छ। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले घटनामा निर्घात कुटिएका विद्यालयका शिक्षक तथा लेखापाल विरेन्द्रप्रसाद जोशीको उपचारमा भीमदत्त नगरपालिकाले सहयोग गर्ने बताएका छन्। 

विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयमा प्रवेश गरेको भीडले लेखापाल जोशीलाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो। जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
विद्यालय हाताभित्र पसेर लेखापाल जोशीमाथि निर्घात कुपिट गर्ने समूहका ८ जना र घटनास्थलमा खटिएका प्रहरीलाई कारबाहीको माग गर्दै नेपाल शिक्षक महासंघ कञ्चनपुरले सोमवारदेखि जिल्लाव्यापी शिक्षण संस्था बन्द गरेको थियो। 

जिल्ला प्रशासन कार्यालयले सोमवार प्रहरी अधिकृतमाथि छानविन गर्न सहायक सिडिओ धर्मराज जोशी संयोजक रहेको चार सदस्यीय छानविन समिति गठन गरिसकेको छ। समितिमा जनपद प्रहरी र सशस्त्र प्रहरीका डिएसपीहरु तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त अनुसन्धान निर्देशक रहेका छन्।

प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख भएका नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा, दीर्घराज पाण्डेय, मनिष विष्ट, दीपक भण्डारी तथा भिडिओमा देखिएका मनोज नाथलाई पक्राउ गरिसकेको छ।
जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा फरार छन्। उनीहरुको खोजी भइरहेको प्रजिअ अधिकारीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस