सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिरामी मृत्यु प्रकरणः अस्पतालमा तनाव

२०८० भदौ ११, ०४:०१ खबर संवाददाता

धनगढीः धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका छन्।

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन्। यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबिच छलफल भएको हो।

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको छ। मृतकका आफन्त रामु कुश्मीले आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको बताए।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन्। आफन्तले अस्पतालमा तालाबन्दीको प्रयास समेत गरेका छन्। अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ। उपचारको क्रममा चिकित्सकले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस