सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली धागो आयातमा बंगलादेशले लगाउँदै आएको प्रतिबन्ध फुकुवा

। फोटो स्रोत ।
२०७६ वैशाख १०, ०२:२३

बंगलादेशले ४ वर्षदेखि नेपाली धागोको आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ। त्यहाँको राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि नेपाली धागोको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो। राजस्व बोर्डले स्थलमार्ग हुँदै धागो आयात गर्न अनुमति दिने निर्णय गरेको बंगलादेशको न्युएज अनलाइनले जनाएको छ। योसँगै अब नेपालबाट बंगालदेशमा धागो निकासी गर्ने बाटो खुलेको छ।

बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेको थियो। तर, नेपाली पक्षले सन् २०१७ देखि नै प्रतिबन्धले नोक्सानी परेको भन्दै फुकुवा गर्न आग्रह गर्दै आएको थियो। निजी तथा सरकारी तबरमा भएका विभिन्न छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकार नेपाली धागो आयात गर्न दिने निष्कर्षमा पुगेको हो। बोर्डको सीमा शुल्क निर्धारण विभागले गत अप्रिल ७ मा पाँचग्रहको तेतुलियामा स्थलमार्ग हुँदै धागो आयातको अनुमति दिने वैधानिक नियामक आदेशसमेत जारी गरिसकेको छ।

बोर्डले जारी गरेको वैधानिक नियामक आदेशअनुसार, बोन्डेड वेयरहाउस लाइसेन्स लिएकाले मात्रै स्थलमार्ग भएर नेपाली धागोको आयात गर्न पाउने छन्। बोन्ड लाइसेन्समार्फत गरिने आयात ड्युटी फ्रि हुने व्यवस्था पनि बोर्डले गरेको छ। तर, सामान्य आयातमा भने थप १० प्रतिशत दायित्व पर्नेछ। नेपालमा हाल दर्जनौं धागो उद्योग सञ्चालनमा छन्। ४ वटा त ठूला लगानीका टेक्स्टायल उद्योग नै सञ्चालनमा छन्। जसमा करिब १५ अर्ब रुपैयाँ लगानी गरिएको अनुमान गरिएको छ। १० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै आएका यस्ता धागो उद्योगहरुले वार्षिक ४० हजार टन धागो उत्पादन गर्ने गरेको बताइन्छ।

तर, धागो निर्यातको प्रमुख गन्तव्य बंगलादेशले प्रतिबन्ध लगाएपछि नेपालका उद्योगहरु यसबाट प्रभावित हुँदै आएका थिए। बंगलादेश सरकारको निर्णयसँगै नेपाली धागो व्यवसायीहरुलाई राहत मिलेको छ। साभार - अनलाइनखबर 
 

कमेन्ट लोड गर्नुस