सुदूर नेपाललाई विश्वसँग जोड्दै

केरा ओइलाउने रोग पानामा ‘टिआरफोर’, टीकापुरमा लगानी डुब्ने खतरा

२०८० भदौ ९, ०६:२५ नारायण अवस्थी

धनगढीः केरा ओइलाउने नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) सुदूरपश्चिममा पहिलो पटक फेला परेको छ। साउन १० मा संकलन गरिएको नमुना सिङ्गापुर पठाएर परीक्षण गर्दा टीकापुरका केरा बगैंचामा पहिलो पटक पानामा टिआरफोर भएको पुष्टि भएको हो। रोगको प्रकोप कैलाली र कञ्चनपुरमा फैलिए केरा खेती तहसनहस हुने र किसानको अर्बैको लगानी डुब्ने जोखिम बढेको छ। बढेको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो। गत साउन १० मा टीकापुरका केरा बगैंचाबाट संकलन गरिएको नमुना सिङ्गापुर पठाएर परीक्षण गर्दा भदौ १ गते पानामा टिआरफोर पुष्टि भएको टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतिसिंह बिकले बताए।

‘टीकापुरका बगैंचाबाट नार्क र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले नमुना संकलन गरेको थियो। भदौ १ गते प्राप्त नतिजाले यहाँका नौ बगैंचामा पानामा टिआरफोर पुष्टि भएको हो,’ मोतिसिंहले भने। नार्क र सुदूरपश्चिम विश्वविद्यालयलयका अनुसन्धानकर्ताको टोलीले टीकापुरका किसानका बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेको थियो।

रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा नौ वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको हो। टीकापुर नगरपालिकाको वडा नम्बर २, ५ र ७ का केरा बगैंचामा पानामा टिआरफोर पुष्टि भएपछि टीकापुर नगरपालिकाको मात्र करिब ८ सय हेक्टरमा गरिएको केरा खेती जोखिममा परेको छ। जसले गर्दा टीकापुरमा मात्रै किसानको अर्बौंको लगानी डुब्ने जोखिम बढेको छ।

पानामा टिआरफोर एक ढुसीजन्य रोग हो। यो रोग लागे केराको पात ओइलाउने, पातको फेद पहिलो हुने, पात सुक्ने र बिरुवा ढल्ने कृषि अधिकृत मोतिसिंहले बताए। केरा उत्पादनमा सुदूरपश्चिममै अग्रणी स्थानमा रहेको टीकापुरमा पानामा टिआरफोर रोग देखा परेपछि केरा खेतीमा गरिएको लगानी डुब्ने जोखिम बढेको छ। यो रोगको नियन्त्रण गर्न हाल कुनै उपचार पद्धति विकास भएको छैन।

माटोमा ढुसीको संक्रमण हुँदा केरामा लाग्ने यो रोगबाट केरा बगैंचा जोगाउन किसानले सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ। बगैंचामा आवतजावत बन्द गर्ने, अन्यत्र प्रयोग गरिएका औजार उपकरण निर्मुलीकरण गरेर मात्रै प्रयोग गर्ने र केरा ओसारपसार गर्दा सावधानी अपनाए रोगको प्रकोपबाट केरा बचाउन सकिने कृषि अधिकृत मोतिसिंहले बताए। टीकापुरका केही केरा बगैंचामा देखा परेको पानामा टिआरफोर रोग फैलिन नदिन सरकारले उपयुक्त सावधानी अपनाउनुपर्ने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस